नुवाकोटमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

सुन्दारदेवी सन्देश साप्ताहिकको मुख्य आयोजना तथा सुभेनियर बोर्डिङ स्कुल, विदुर–२ नुवाकोटको सहआयोजनामा आयोजित आठौं “अन्तर विद्यालय खुला लोकनृत्य प्रतियोगिता” भव्य, सभ्य र सफल रूपमा सम्पन्न भएको छ।

नेपालको मौलिक कला, संस्कृति तथा लोकपरम्पराको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपाली लोकसंस्कृतिको झल्को दिने विविध लोकनृत्य प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रका सम्मानित व्यक्तित्व, शिक्षाविद्, कलाकार ,पत्रकार तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताको मूल्यांकनका लागि आमन्त्रित निर्णायकहरूले प्रस्तुत नृत्य, सांस्कृतिक मौलिकता, प्रस्तुतीकरण र सिर्जनात्मकताका आधारमा नतिजा निर्धारण गरेका थिए।

कलाकार पवित्रा आचार्य र रमेश पाठकले निर्णायकको भूमिका निर्वाह गर्दै सहभागीहरूले नेपाली कला र संस्कृतिको संरक्षणमा विद्यालयस्तरबाट भइरहेको प्रयास प्रशंसनीय रहेको बताए। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सांस्कृतिक चेतना विकास गर्नुका साथै लोककला संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल टोलीहरूलाई बरिष्ठ संगितकार राजु सिंह र सुभेनियर स्कुलका अध्यक्ष द्वारा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

आयोजक संस्था सुन्दारदेवी सन्देश साप्ताहिकका कार्यकारी सम्पादक किरण अधिकारीलाई कार्यक्रममा सहभागी अतिथिहरूले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक, प्रेरणादायी र सांस्कृतिक कार्यक्रमहरू अझ व्यापक र प्रभावकारी रूपमा आयोजना हुँदै जाने अपेक्षा व्यक्त गरेका छन्।

लोकसंस्कृतिको जगेर्ना र नयाँ पुस्तामा यसको महत्व हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले नुवाकोटमा सांस्कृतिक माहोल सिर्जना गर्नुका साथै कला र संस्कृतिप्रति युवापुस्ताको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ। कार्यक्रममा , व्यवसायी, पत्रकार र समाजसेवीलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार