काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार र नेतृत्व चयन अभियानलाई तीव्रता दिँदै आज देशका २८ जिल्लामा एकैसाथ पहिलो जिल्ला अधिवेशन आयोजना गर्दैछ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कोशी प्रदेशका चार, मधेस प्रदेशका चार, बागमतीका दुई, गण्डकीका चार, लुम्बिनीका तीन, कर्णालीका छ तथा सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन सञ्चालन हुनेछन्। अधिवेशन हुने जिल्लामा उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम पश्चिम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरा रहेका छन्।
निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको पार्टीले जनाएको छ।
यसअघि रास्वपाले ३८ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। ती जिल्लामा नयाँ जिल्ला नेतृत्व चयन भइसकेको आयोगले जानकारी दिएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा सम्पन्न अधिवेशनमार्फत पार्टीले स्थानीय संगठन संरचना बलियो बनाउने प्रयास गरिरहेको छ।
रास्वपाले आगामी पहिलो राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ। बाँकी १० जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि गरिने योजना छ।
पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने तय भएको छ। जिल्ला अधिवेशनहरूलाई महाधिवेशनको पूर्वतयारीका रूपमा हेरिएको छ, जहाँबाट निर्वाचित नेतृत्वले पार्टीको आगामी संगठनात्मक दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

