गोरखा । पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उनले भने, ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु ।’
बयानका क्रममा आफूलाई समितिका पदाधिकारीले सम्पत्तिको स्रोतबारे सोधेको प्रसंग निकाल्दै गुरुङले भने- ‘समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ? भनेर प्रश्न गर्यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त भनेर प्रतिप्रश्न गरिदिएँ ।’
छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको भन्दै उनले आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए ।
आफूले क्लीन चीट पाएर पुनः गृह मन्त्रीमा फर्किने सम्भावनाबारे उनले थपे, ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरूका दुई महिना कोही पनि नआइदिनुहोला ।’
पुनस् जिम्मेवारी पाए आफूले कामलाई प्राथमिकता दिने उनको भनाइ थियो । सम्बोधनका क्रममा उनले अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुन नहुने बताए ।

