२५ वर्षमै रास्वपा नुवाकोटको नेतृत्वमा रामेश्वर गजुरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला नेतृत्व युवा पुस्ताको हातमा पुगेको छ। २५ वर्षीय रामेश्वर गजुरेल जिल्ला सभापतिमा अत्यधिक मतसहित निर्वाचित भएका छन्।

शनिबार सम्पन्न जिल्ला अधिवेशनमा कुल ३२५ मत खसेको थियो। त्यसमध्ये गजुरेलले २५७ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी शरण महतले ३७ मत पाए भने अर्का उम्मेदवार राजु लामिछानेले २८ मतमा सीमित रहे।

२०५७ सालमा जन्मिएका गजुरेल रास्वपाको सुरुवाती चरणदेखि नै नुवाकोटको संगठन निर्माणमा सक्रिय रहँदै आएका छन्। उनले २१ वर्षको उमेरमै जिल्ला कमिटीको तदर्थ नेतृत्व सम्हालेका थिए। पार्टी स्थापना भएको वर्ष २०७९ मा पनि उनी जिल्लाको नेतृत्वमा थिए।

निर्वाचनपछि प्रतिक्रिया दिँदै गजुरेलले पार्टीको संगठनात्मक विस्तार र स्थानीय तहमा प्रभाव बढाउने लक्ष्य रहेको बताए। उनका अनुसार सुरुवाती चरणमा अनुभवको कमी भए पनि अहिले पार्टी बलियो आधारसहित अघि बढिरहेको छ। नुवाकोटका दुवै संघीय निर्वाचन क्षेत्र जित्न सफल भएको उल्लेख गर्दै उनले अब त्यस सफलतालाई स्थानीय तहसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर पार्टीलाई थप सशक्त बनाउने र सबै पक्षलाई समेटेर अगाडि बढ्ने नीति अपनाइने पनि बताए। गजुरेलको नेतृत्वमा रास्वपा नुवाकोटले युवा सहभागिता र संगठन विस्तारलाई मुख्य प्राथमिकता दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार