नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जा क्षेत्रको विकास गर्नसके मात्रै समृद्धितर्फ जान सकिने बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित विद्युत नियमन आयोगको छैठौं वार्षिक उत्सवको अवसरमा बोल्दै उनले समृद्धिका लागि उर्जा क्षेत्रको विकास अपरिहार्य रहेको बताएका हुन् । उनले विद्युत प्राधिकरणले आफ्नो विद्युत उत्पादनसँगै प्रशारण, विक्री वितरणमा समेत जोड दिएको बताए ।
उनले सेवा पु¥याउने क्रममा केही अप्ठ्याराहरु सिर्जना भए विद्युत नियमन आयोगसँग सहकार्य गर्ने बताए । अहिले पनि उर्जा क्षेत्रमा हुनुपर्ने नियमन हुन नसकेको संकेत गर्दै शाक्यले आगामी दिनमा विद्युत नियमन आयोगले त्यस्तो नियामकीय अभावलाई पूरा गर्दै जानुपर्नेमा जोड दिए ।
शाक्यकाअनुसार विद्युत प्राधिकरणले आफैँ गर्दै आएका कतिपय नियमनहरु विद्युत नियमन आयोगको कार्यक्षेत्रभित्र परेको हुनसक्ने बताउँदै त्यस्तो नियमनको पाटोलाई बिस्तारै प्रतिस्थापन गर्दै आयोगबाटै गरिने स्पष्ट पारे ।
उनकाअनुसार डेडिकेटर फिडर तथा ट्रंक लाइनको पुनरावलोकनसम्बन्धमा नियमन आयोगबाटै जाँचबुझ हुनुपथ्र्यो तर हुन सकेन । आगामी दिनमा आयोगको क्षेत्राधिकारलाई विद्युत प्राधिकरण नमिच्ने उनको भनाई रहेको छ ।
शाक्यले अघिल्ला आयोगका पदाधिकारीहरुले तयार गरेको आधारशिलामा टेकेर वर्तमान आयोग नेतृत्वले काम गर्नुपर्ने बताए । उनकाअनुसार द्रुत गतिमा ब्याट्री इनर्जी स्टोरेज सिस्टम, पम्प स्टोरेज पावर पलान्ट, इलेक्ट्रिसिटि मार्केट, रिजर्भ क्यापसिटि मार्केट जस्ता केही पहिचान भएका क्षेत्रको समेत विद्युत् नियमन आयोगबाट नियमन हुनुपर्छ ।
हालको विद्युत ऐनमा केही दुविधाहरु रहेर आयोजनाहरुको काम अघि बढ्न कठिनाइ भए त्यसमा पनि आयोगले सहजिकरण गर्नुपर्ने शाक्यले बताए ।
उनकाअनुसार उर्जा क्षेत्रमा रहेका समस्या र लगानीमैत्री वातावरणका लागि अहिले संसदमा विद्युत विधेयक विचराधिन छ ।
विधेयक आएपछि पनि केही दुविधा पैदा हुनसक्नेतर्फ इन्कित गर्दै शाक्यले देखा पर्नसक्ने त्यस्ता दुविधाहरुलाई नियमकीय निकायका हिसाबले विद्युत् नियमन आयोगले सहजीकरणको भुमिका खेल्नुपर्ने बताए ।
आयोगको वर्तमान नेतृत्वले एक वर्षको अवधीमा धेरै उल्लेख्य काम गरेको बताउँदै आफू बीचमा नियमन आयोगको विज्ञका रुपमा रहँदा त्यसको अनुभुति गर्न पाएको समेत बताए ।

