
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारी चरम अलोकतान्त्रिक भएको बताएका छन् ।
नेता ज्ञवालीले साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे बताएका हुन् । विश्वविद्यालयबाट विद्यार्थी सङ्गठनका गतिविधि, उपस्थिति र अस्तित्वलाई निषेध गर्ने निर्णय चरम अलोकतान्त्रिक भएकाे उल्लेख गरे । उनले विद्यार्थी संगठन खारेज गर्ने निर्णय प्रयोजनका लागि विश्वविद्यालयहरुमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेप भएको उल्लेख गरेका छन् ।
नेता ज्ञवालीले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यो धृष्टतामा उपकुलपतिहरुले कसरी हस्ताक्षर गरे होलान् भनी प्रश्न समेत गरेका छन् । विद्यार्थी आन्दोलनमा केही समस्या देखिएको र मुलमुद्दाबाट दायाँबायाँ भएको उनको भनाइ छ।
तर शैक्षिक गुणस्तर वृद्धिका लागि क्याटलिस्ट बन्नुपर्नेमा मुल मुद्दाबाट बरालिए पनि संगठनलाई निषेध गर्नु समाधान नभएको उनको तर्क थियाे ।

