करिब तीन वर्षयता अशान्त रहेको भारतको उत्तरपूर्वी राज्य मणिपुरमा फेरि हिंसा बल्झिएको छ । दुई बालबालिकाको ज्यान गएको घटनापछि मणिपुरमा फेरि हिंसा सुरु भएको हो । स्थानीय मैतेई र कुकी–नागा समुदायबीचको द्वन्द्वको मारमा त्यहाँ बसोबास गर्ने हजारौं नेपालीभाषी समुदाय पनि परेको छ ।मणिपुरको विष्णुपुर जिल्ला प्रशासनका अनुसार सन्दिग्ध सशस्त्र समूहले ७ अप्रिलमा मोइराङ ट्रोन्लाओबी क्षेत्रको एक घरमा बम प्रहार गर्दा सुतिरहेका ५ वर्षका बालक र ६ महिनाकी बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
उनीहरूकी आमा गम्भीर घाइते भएकी थिइन् । उक्त क्षेत्र रैथाने मणिपुरी ९मैतेई० समुदायको बाहुल्य भएको तल्लो भाग र अर्को जनजाति समुदाय कुकी बहुल चुराचन्दपुर जिल्लाको सिमानासँगै जोडिएको छ । बालबालिकाको मृत्युको विरोधमा स्थानीय सडक प्रदर्शनमा उत्रिए । गृहमन्त्री गोविन्ददास कोंथौजमलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार प्रदर्शनका क्रममा त्यसै दिन सुरक्षाकर्मीको गोलीबाट दुई सर्वसाधारणको मृत्यु भएको थियो ।
शंकास्पद सशस्त्र व्यक्तिहरू घुमिरहेको अपुष्ट हल्ला सामाजिक सञ्जालमार्फत फैलिएपछि आक्रोशित भीड थप उत्तेजित बनेको थियो । घटनाको एक सातापछि अर्थात् १४ अप्रिलमा प्रदर्शनकारी र सुरक्षा बलबीच झडप नै भयो ।

