बेल्डाडी गाउँपालिका उपाध्यक्ष ज्यान मुद्दामा पक्राउ

कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले गाउँपालिका उपाध्यक्ष नाथलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ गरेको जानकारी दिए ।“ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ,” शाहीले भने, “मुद्दा इप्रका बेल्डाडीबाट चलेको छ ।” किटानी जाहेरीपछि जिल्ला अदालत कञ्चनपुरले पक्राउ गर्न अनुमती दिएपछि नाथलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।

कञ्चनपुरको बेलौरीमा मोटरसाइकलसहित हरिकिसन रानाको शव जलेको अवस्थामा फेला परेको थियो । बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै गत वैशाखको पहिलो साता जलेको अवस्थामा बेल्डाँडी गाउँपालिका ३ कमरीका हरिकिसन राना मृत फेला परेका थिए ।

पचास वर्षीय राना सडक छेउको भुसामा मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेको विषय केहीदिन अघि प्रतिनिधीसभामा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद दीपक बोहराले निस्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका थिए । प्रहरीले घटना सडक छेउमै भएकाले सडक दुर्घटना भएको वा हत्या भएको विषय शङ्कास्पद भन्दै अनुसन्धान गरिरहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार