मस्तिष्क मृत्युपछि अंगदान: ‘आफन्त मान्दनैन् चिकित्सक पहल गर्दैनन्’

नेपाल सरकारले बिरामीको शरीरको कुनै अंग बिग्रिएमा प्रत्यारोपण गर्ने उद्देश्यले मस्तिष्क मृत्युपछि अंगदान गर्ने व्यवस्था गरेको छ। अंग प्रत्यारोपण नियमावली, २०७३ को उद्देश्य पनि यही हो। तर मस्तिष्क मृत्यु भएका मानिसका आफन्तले अंगदान गर्न नमान्ने प्रवृत्तिले लक्ष्यअनुसार प्रत्यारोपण हुन नसकेको सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको अनुभव छ।

तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष एक हजार जनाको सडक दुर्घटनाका कारण मस्तिष्क मृत्यु हुन्छ। मस्तिष्कमा विभिन्न कारणले चोट लाग्दा मस्तिष्क मृत्यु हुन्छ। मस्तिष्क मृत्यु भएपछि पनि केही समय मुटुले काम गरिरहेको हुन्छ। यस्ता बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको हुन्छ। यस्तो अवस्थामा मृत्यु निश्चित हुन्छ।

मस्तिष्क मृत्युपछि शरीरका विभिन्न अंग दान गर्न मिल्छ। फोक्सो, मिर्गौला, कलेजो, पाठेघर, सानो आन्द्रा, छाला र आँखाको नानी दान र प्रत्यारोपण गर्न मिल्छ। नेपालमा भने मस्तिष्क मृत्युपछि मिर्गौला र कलेजो मात्र अरू मानिसमा प्रत्यारोपण गर्ने अभ्यास छ।

केन्द्रका अनुसार नेपालमा अहिलेसम्म मस्तिष्क मृत्यु भएपछि अंगदान गर्न दुई हजार ६ सय चारजनाले केन्द्रमा नाम सूचीकृत गराएका छन्। मस्तिष्कघातका कारणले पनि मस्तिष्क मृत्यु हुन्छ। यो हिसाबले नेपालमा प्रतिवर्ष मस्तिष्क मृत्यु हुनेको संख्या धेरै छ। तर त्यसको अनुपातमा अंगदान गर्नेको संख्या औंलामा गन्न मिल्ने रहेको केन्द्रकी मिर्गौला रोग विशेषज्ञ डा। कल्पना श्रेष्ठले बताइन्।

नेपालमा मस्तिष्क मृत्युपछि अंग प्रत्यारोपण कार्यक्रम सुरु भएको २०७३ सालदेखि हो। त्यसयता मस्तिष्क मृत्युपछि दान गरिएका १० वटा मिर्गौला र ३ वटा कलेजो अन्यमा प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ। डा। श्रेष्ठ भन्छिन, ‘हामीलाई अस्पतालबाट फोन आएपछि जान्छौं तर अंग दिने बेलामा आफन्तले मान्दैनन्।’

उनका अनुसार मस्तिष्क मृत्युपछि आफन्तले नै अनेक कारण देखाएर दिन मान्दैनन्। ‘मृत्युपछि अंग निकालेमा अर्को जन्ममा विकलांग जन्मिन्छ भन्ने भ्रम या स्वर्ग गइँदैन भन्ने रुढीवादी सोचका कारण मृतकका आफन्तले अंग दिन मान्दैनन्’, उनले भनिन्।

बिरामीका आफन्तबाहेक चिकित्सकको प्रभावकारी भूमिकाको कमीले पनि यो कार्यक्रमले गति लिन नसकेको डा। श्रेष्ठ सुनाउँछिन्। उनका अनुसार मस्तिष्क मृत्यु भएको घोषणा गर्नुअघि ६ घण्टाभित्र दुईवटा परीक्षण गरेपछि मात्र बिरामीका आफन्तलाई जानकारी दिनुपर्छ। यस्तो बेलामा बिरामी पक्षबाट हुन सक्ने गुनासोको सामना गर्न नचाहेर पनि चिकित्सक तथा अस्पताल प्रशासनले चासो नदेखाएको हुन सक्ने उनले बताइन्।

‘यस्तो अवस्थामा बिरामीका आफन्तले मृत्युभन्दा अघिको अवस्थालाई स्वीकार्न चाहाँदैनन्, चिकित्सकले पनि बोझ लिन चाहँदैनन्’, उनले भनिन्।

डा। श्रेष्ठका अनुसार मस्तिष्क मृत्युपछिको अंगदान बढाउन केन्द्रले अस्पतालहरूसंग पटकपटक छलफल गर्ने, यसको महत्व बुझाउने जस्ता कार्य गरिरहेको छ। नर्भिक अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, बाँसवारी न्युरो अस्पताल, अन्नपूर्ण न्युरो अस्पताल र बी एन्ड बी अस्पताललाई मस्तिष्क मृत्यु भएका व्यक्तिको जानकारी गराउन र समवन्य गर्न केन्द्रले पटकपटक अनुरोध गरेको उनी बताउँछिन्।

मस्तिष्क मृत्युपछि अंगदानलाई प्रोत्साहन गर्न सरकारले अंगदाताको परिवारलाई दुइै लाख र व्यवस्थापनमा सहयोग गर्ने अस्पताललाई ७५ हजार रूपैयाँ दिने निर्णय हालै गरेको छ। केन्द्रमा मिर्गौला र अन्य अंग प्रत्यारोपणको पर्खाइमा दुई हजार जनाभन्दा बढी छन्। मस्तिष्क मृत्युपछिको अंगदान र प्रत्यारोपण यही केन्द्रमा मात्र हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार