लमजुङले प्रशासनले सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गर्ने

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गर्ने भएको छ । नेपाल सरकारको निर्णयअनुसार आर्थिक वर्ष २०८३–८४ भित्रका विभिन्न पर्व तथा दिवसका अवसरमा कार्यालयले नियमित सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालकाअनुसार वर्षभरि पर्ने ११ वटा सार्वजनिक बिदाको दिनमा पनि अत्यावश्यक सेवाहरू निरन्तर उपलब्ध गराइनेछ । यसअन्तर्गत नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा अवरुद्ध नहुने गरी सञ्चालन गरिने जनाइएको छ ।

सेवाग्राहीलाई सहज र निरन्तर सेवा दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको प्रजिअ खनालले बताए । सार्वजनिक बिदाका कारण सेवा लिन समस्या भोग्नुपर्ने अवस्थालाई अन्त्य गर्न यो निर्णय प्रभावकारी हुने अपेक्षा गरिएको छ । कार्यालयले गणतन्त्र दिवसदेखि अन्तर्राष्ट्रिय महिला दिवससम्मका विभिन्न पर्व तथा दिवस समेट्दै ११ दिन सेवा खुला राख्ने जनाएको छ ।

कार्यालयका अनुसार गणतन्त्र दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, क्रिसमस डे, तमू ल्होसार, पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, माघी पर्व÷माघे सङ्क्रान्ति, राष्ट्रिय प्रजातन्त्र दिवस, ग्याल्पो ल्होसार र अन्तर्राष्ट्रिय महिला दिवसलगायतका सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने जनाइएको छ ।

साथै, इस्लाम धर्मावलम्बीहरूको ईदउल फित्र तथा बकर ईद ९ईद उल अजहा० का तोकिएका दिनहरूमा समेत सेवा सञ्चालन गरिनेछ । जिल्ला प्रशासन कार्यालय लमजुङको यस कदमलाई सेवामैत्री र नागरिककेन्द्रित पहलका रूपमा हेरिएको छ । यसले सेवाग्राहीलाई लाइन बस्ने झन्झट कम गर्नुका साथै समयमै सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले बताए ।

उक्त दिनहरूमा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा नियमित रूपमा उपलब्ध गराइने उनले जानकारी दिए । सार्वजनिक बिदाका कारण सेवाग्राहीले भोग्ने असुविधा न्यूनीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गौतमले बताए ।

 

सम्बन्धित समाचार

ताजा समाचार