काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले कालापानी र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताएका छन् । आईतवार चितवनमा पार्टीको प्रथम महाधिवशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले केही समय अघि प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि उहाँको आलोचना भएको थियो । सोही मन्तव्यको स्पष्टीकरण प्रधानमन्त्री साहले पार्टीको महाधिवेशन उद्घाटन गर्दै दिएका हुन् । उनले कालापानी र लिपुलेक लगायतका क्षेत्रका विषयमा छिमेकी मुलुकसँग तथ्यपरक संवाद गर्न सरकार तयार रहेको स्पष्ट पारे । प्रधानमन्त्री साहले सीमाको विषय उठाउँदा अन्य देशले आपत्ति जनाउनु स्वाभाविक भएपनि नेपालले प्रमाणकै आधारमा आफ्नो अडान राख्ने बताए । प्रधानमन्त्री साहले सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्ष वा वैदेशिक मध्यस्थकर्ताको आवश्यकता नरहेको समेत प्रस्ट पारे । नेपालले आफ्ना छिमेकीहरूसँग प्रत्यक्ष संवादमार्फत नै समस्याको समाधान खोज्ने उनको भनाइ छ । आफ्नो राष्ट्रियता र देशप्रतिको निष्ठामा कसैले पनि आशङ्का गर्न नपर्ने उल्लेख गरे ।
उनले भने,‘सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो । हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ आपत्ति जनाउनुभयो मलाई अचम्म लाग्यो । ल ठिक छ तपाइँहरूसँग प्रमाण छ भने ल्याउनुस् हामीसँग त प्रमाण छ हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हौँ । हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेको होइन । हामी हाम्रो छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ । त्यो कुरा गरिएको हो यसमा आशङ्का मान्नु पर्दैन । मेरो राष्ट्रियताप्रति कुनै आशङ्कामा मान्नु पर्दैन कसैले पनि मान्नु पर्दैन ।’
महाधिवेशनका क्रममा उनले राष्ट्रियताको रक्षाका लागि सरकार दृढ रहेको र प्रमाणका आधारमा सीमाको रक्षा गरिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

