रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्तित्र दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिएका छन् ।
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो चेतावनी दिएका हुन् । उनले नेपालजस्तो मुलुकले गलत निर्णयबाट उत्पन्न हुने भूराजनीतिक दबाब थेग्न कठिन हुने भएकाले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग रहनुपर्ने बताए । उनले सरकार गठन भएको सय दिन नपुग्दै केही निर्णय र गतिविधिले प्रश्न खडा गरेको उल्लेख गर्दै महाधिवेशनमार्फत ती प्रश्नको जवाफ दिन रास्वपालाई आग्रह गरे । उनले लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्थामा आधारित रहेको भन्दै न्यायपालिका, राष्ट्रपति संस्था, संसद तथा आलोचनात्मक आवाजहरू कमजोर पार्ने प्रयास भए जनताको समर्थन क्रमशः क्षयीकरण हुने चेतावनी पनि दिए । उपमहासचिव ज्ञवालीले सरकारका केही प्रारम्भिक कदम रास्वपाको आफ्नै चुनावी प्रतिवद्धता तथा लोकतन्त्र सुदृढीकरणको वाचासँग मेल नखाएको देखिएको टिप्पणी पनि गरेका छन् ।
उनले भने, ‘एउटा कुनैपनि गलत निर्णयले पार्नसक्ने भूराजनीतिक दबाब नेपालजस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ । त्यसो भएको हुनाले तपाईहरुको यो जनमत राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हितको रक्षाका लागि सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ । दोस्रो, सरकारले अझै सय दिन पुरा गरेको छैन । आलोचना गर्न मन छैन र यो आलोचना गर्ने थलो पनि होइन । तर पनि प्रारम्भिक केही निर्णयहरु, केही गतिविधिहरुले केही प्रश्नहरु भने खडा गरेका छन् । तपाईहरुले यो महाधिवेशनबाट ती प्रश्नहरुको जवाफ दिनुपर्छ । किनभने लोकतन्त्र भनेको नियन्त्रण र सन्तुलनको व्यवस्था हो । यदि न्यायालयहरु कमजोर भए, राष्ट्रपति संस्था कमजोर भयो, यदि संसद कमजोर भयो यदि आलोचनाका स्वरहरु कमजोर भए, यदि जनताका आलोचनाहरुलाई बेवास्ता गर्ने प्रवृत्तितिर अघि बढियो भने स्वभाविक छ त्यो जनमत सधैंभरी नरहन सक्छ । प्रारम्भिक दिनहरुले लोकतन्त्रलाई बलियो बनाउने तपाईहरुको आफ्नै वाचापत्रसँग मेल नखाने कतिपय घटनाहरु भएका छन् । हामी चाहन्छौँ, ती कुराहरु अपवाद बनौँ ।’
उनले लोकतान्त्रिक संस्थाको सम्मान, आलोचनाको ग्रहणशीलता र जनमतप्रतिको उत्तरदायित्व कायम राख्न रास्वपालाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार