रविको विकल्प बालेन, छुटे कुलमान ! पुर्वका हर्क आफ्नै पारामा, पश्चिमका गोपीको छैन टुंगो

अंकित कुवँर । पछिल्लो समय नेपाली राजनीतिमा चर्चाको केन्द्रमा रहेका केही नयाँ अनुहारहरूबीचको सहकार्य र दूरीले राजनीतिक वृत्त मात्र होइन, आम नागरिक र विश्लेषकहरूलाई पनि गहिरो हिसाबले सोच्न बाध्य बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको राजनीतिक सहमतिले नयाँ राजनीतिक तरंग सिर्जना गरिरहेका बेला, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल भने उक्त एकतामा छैनन् ।

यो राजनीतिक घटनाक्रमले स्थापित दलहरूलाई मात्र होइन, आफूलाई ‘वैकल्पिक’ र ‘नयाँ शक्ति’का रूपमा प्रस्तुत गर्दै आएका नेताहरूबीच पनि स्पष्ट मतभेद, रणनीतिक दूरी र भावी दिशाबारे अन्योलता देखाएको छ । रवि लामिछाने र बालेन शाहबीच भएको सहमतिलाई धेरैले नयाँ राजनीतिक युगको सुरुआतको संकेतका रूपमा व्याख्या गरेका छन् । भ्रष्टाचारविरुद्धको आक्रामक अभिव्यक्ति, पुराना दलप्रति जनआक्रोशको प्रतिनिधित्व र शहरी युवामाझ बलियो पकड भएका यी दुई नेताको सहकार्यले आगामी निर्वाचनको समीकरण नै बदल्न सक्ने आँकलन भइरहेको छ । रास्वपा संगठनात्मक रूपमा राष्ट्रिय स्तरमा फैलिएको दल हो भने बालेन शाह व्यक्तिगत लोकप्रियता, शहरी मतदाता र वैकल्पिक सोचको प्रतीक बनेका छन् । यी दुई शक्तिको मिलनले ‘संस्थागत शक्ति’ र ‘व्यक्तिगत करिश्मा’को संयोजन भएको एकतर्फी बुझाइ छ ।

कुलमान घिसिङ किन छुटे ?

सबैभन्दा धेरै प्रश्न उठेको नाम हो—कुलमान घिसिङ । लोडसेडिङ अन्त्य गरेर राष्ट्रिय स्तरमै लोकप्रिय बनेका कुलमान उज्यालो नेपाल पार्टीका संरक्षक हुन् । पहिलेदेखि नै उनी पनि वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढ्ने संकेत दिँदै आएका थिए । रवि–बालेन सहमतिको चर्चाका क्रममा कुलमान पनि यही मोर्चामा आउने जेनजीहरुको पनि अपेक्षा थियो । तर अन्ततः उनी उक्त सहमतिबाट बाहिरिए । राजनीतिक वृत्तमा यसको कारणबारे विभिन्न अड्कलबाजी पनि भइरहेका छन् । शक्ति बाँडफाँटमा सहमति नजुट्नु, नेतृत्व र भावी भूमिकाबारे स्पष्टता नहुनु तथा आफ्नै राजनीतिक ब्रान्ड जोगाउने रणनीति लगायतका बिषयमा सामाजिक संञ्जालमा चर्चा पनि भइरहेकै छ ।

सुमना श्रेष्ठको मौनताः संकेत के हो ?

यो घटनाक्रमसँगै अर्को रोचक पाटो बनेको छ—सुमना श्रेष्ठको मौनता । कुलमानको टिमसँग नजिक देखिएकी सुमनाको पछिल्लो समय राजनीतिक गतिविधि सार्वजनिक रूपमा देखिएको छैन । यदि कुलमान रवि–बालेनको मोर्चामा आउने अवस्था बन्यो भने सुमना श्रेष्ठ पनि त्यही धारमा समाहित हुने सम्भावना प्रबल देखिन्छ ।

हर्क साम्पाङ : आफ्नै बाटो, आफ्नै शैली

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सुरुदेखि नै फरक धारमा देखिँदै आएका नेता हुन । उनी कुनै गठबन्धन वा सहमतिभन्दा पनि ‘स्वाभिमान’, ‘श्रम संस्कृति’ र ‘स्थानीय शासन’लाई केन्द्रमा राखेर राजनीतिमा होमिएका ब्यक्ति हुन् । उनले श्रम संस्कृति पार्टी स्थापना गरेर राष्ट्रिय राजनीतिमा प्रवेशको औपचारिक संकेत गरिसकेका छन् । रवि–बालेन सहमतिबाट अलग रहनु उनको राजनीतिक चरित्रसँग मेल खाएको देखिन्छ । हर्क आफैंले भनेका छन्, “म कसैको पछाडि लागेर होइन, आफ्नै विचार र श्रमको मूल्यबाट राजनीति गर्छु ।” यसले उनी तत्काल कुनै ठूलो गठबन्धनमा जाने सम्भावना न्यून छ ।

गोपी हमाल : मौनताभित्रको रणनीति ?

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल भने हालसम्म सार्वजनिक रूपमा कुनै स्पष्ट राजनीतिक धारणा राखेका छैनन् । उनी न रवि–बालेन सहमतिमा खुलेर समर्थनमा देखिएका छन्, न त विरोधमा । राजनीतिक वृत्तमा गोपी हमाललाई ‘कम बोल्ने तर कामले बोल्ने’ नेताका रूपमा पक्कै लिइन्छ । उनी मौन रहेर परिस्थितिको मूल्यांकन गरिरहेको र सही समयको प्रतीक्षा गरिरहने पात्र गोपी हमाल हुन् ।

रवि–बालेन सहमतिले एउटा बलियो ध्रुव त बनाएको छ, तर त्यसबाहिर रहेका कुलमान, हर्क र गोपी जस्ता नेताहरूले अर्को ध्रुव निर्माण गर्ने वा आफ्नै बाटोमा अघि बढ्ने सम्भावना उत्तिकै छ । रवि–बालेन एकताले नेपाली राजनीतिमा नयाँ आशा र बहस दुवै जन्माएको छ । तर कुलमान घिसिङको बहिर्गमन, हर्क साम्पाङको स्वतन्त्र बाटो र गोपी हमालको मौनताले नयाँ राजनीति पनि सजिलै एक ठाउँमा आउन नसक्ने यथार्थ उजागर गरेको छ । यी नयाँ नेताहरूले देशलाई नयाँ दिशा दिन एक ठाउँमा उभिन सक्छन् कि फेरि आ–आफ्नै बाटोमा छरिनेछन् ? यो प्रश्नको उत्तर समय र आगामी राजनीतिक निर्णयहरूले दिनेछन् ।

सम्बन्धित समाचार

ताजा समाचार