के गरिस् नी रामे ?

मल्ल सर, नमस्कार ।  आराम कुसल हुनुहुन्छ होला, तर प्रश्न देश कति आराम छ भन्ने होला ? त्यता पनि चिन्ता होला, यता पनि चिन्ता परेकै छ ।राम एउटा असल केटा हो । हाम्रा समयका हरेक बिधार्थीलाई यो हरफ याद होला । अक्षर राम्रो बनाउने अभ्यासका लागी नेपाली शिक्षकले हरेक दिन एक या दुई पाना  लेख्न लगाउथे । यो अभ्यासको निरन्तरताले  मेरो बालक मानसपटलमा राम भन्ने असल नै हुन्छन भन्ने सोच बास गरेको थियो ।

त्यस माथी अंग्रेजी शिक्षकले पनि राम ईज अ गुड व्वाई लेखाउने गर्नुहुन्थ्यो ।  अब त झन राम असल नै हुनुपर्दछ भन्ने प्रष्टै भएको थियो  । त्यसपछि ईतिहासले पुष्टि गरेको पितृप्रेमी , प्रजाका प्राण रक्षक , सिताका प्राण प्रिय , हिन्दुका भगवान राम ।  फेरी नेपालको ईतिहासका  न्यायप्रेमी राजा राम शाहको देनको बारेमा सुनियो । आहा कति मिठो नाम, अब त झन राम भन्ने असल नै हुन्छन भन्ने अठोट भयो । मन पर्ने चाड रामनवमी, मन पर्ने मन्दिर राम मन्दिर, मन पर्ने ठाँउ रामनगर, रामकोट, मन पर्ने मान्छे पनि राम । धरान विजयपुरको दन्तकाली मन्दिरको पुजारी राम भण्डारी पनि असल भएकै कारणले देबीको सेवा गर्न पाएका होलान् जस्तो लाग्ने ।

हरेराम हरेराम भजन गरेको सुन्ने बित्तिकै भजनमा जुटिहाल्ने यस मनुले रामवरण यादब राष्ट्रपति भएको दिन रामले शासन गरेको देश भन्ने हर्षले १०८ दीप प्रज्वलित गरेको थिए ।  बिद्याले बिचमा भाँजो हालेपनि फेरी रामचन्द्र पुगे , १०८ होईन यो पाली पुरै २१६ दीप प्रज्वलित गरे, दुईगुणा खुसी भए, दुईपल्ट राम आए यो देशमा । रामचन्द्र आएपछि शुसासन, बिकास र शान्ती आउने पक्का भयो , अरु के सोच्नु थियो र  ?

अब यो भदौ २३।२४ गतेको परिवेशमा यो रामका अगाडी केही थपिएजस्तो ,अराम ,कुराम ,बिराम,हराम भएजस्तो,परिभाषा ,सोच,सद्भाब सबै बिग्रीएको जस्तो भान भएछ ।  यस विचमा रामचन्द्रलाई लुटुपुटु पारेछन कसले पकाएका हुन कि, फकाएका हुन थाहा छैन , तर यस्तो सफा रामचन्द्रलाई कस कसले के के गर्न लगाए , अहिले आएर देश नै अर्को भयो, नआउने आए, आउने गए, घर डढ्यो, दरवार डढ्यो , लुगा कपडा डढे, गाडी डढे, मोटर साईकल डढे, पुलिस अड्डा डढे, मन्त्रालय डढे, जो ठडिएका थिए ति निहुरिएर गए , जो निहुरिएका थिए ठडिएर अग्ला भए ,आवाज नआउनेको गर्जना शुरु भयो, गर्जिने बाघहरु स्यालका खोरमा छिरे, दाजुभाईको कुटाकुट   मारामार भयो, छमेकीले भकारी फुटाए ।

केटाकेटीको तिहारको देउँसी जस्तो भन भन भाई हो देउसीरेको भरमा राज्य सँचालनका अठोट बाधेकाहरु फेरी जम्मा भएर कौतुहलताको सृजना गर्न खोजेको देखेर मनले भक्कानिदै भन्छ के गरिस् नि रामे ।संसार भरि नै प्रजातान्त्रीक अभ्यासका लागी जानीजानी प्रतिनिधिसभा कसैले पनि एक्लै मनखुसी गरेर भंग गरी जनताको मौलिक हक अधिकार हनन् गर्न नदिने प्राबधान संविधानबाट नै प्रदान गरिएको हुन्छ । उपयुक्त कारण बताई प्रधानमन्त्रीको सिफारिसमा वा बिद्यमान प्रतिनिधीसभाबाट सरकार गठन हुन नसक्ने तथा सरकार गठन गरि राज्य संचालन गर्न सकिने संभावित बिकल्पहरुको उपभोग गदा वर्तमान प्रतिनिधि सभा उपयोगिता बिहिन भएको ठहर भएपछि अर्को प्रतिनिधी सभा गठन गर्न जनतामाथी चुनावी व्ययभार थप्ने र जनताले चुनेको सभा बिघटन हुने अवस्था आउँदछ ।

राष्ट्रिय सुरक्षा र प्रजातान्त्रीक अभ्यास जगेर्ना गर्ने  तथा  सबैको हितमा काम गर्ने सवालमा २।४ सय मान्छे  मरे भनेर राज्य संचालनको सोच परिवर्तन गर्नु आवश्यक हुदैन र हुनुहुदैन ।  कुकृत्य गर्नेहरु दण्डित हुनुपर्दछ, सकिन्छ भने खुला सडकमा नुन खुर्सनी हालेर दौडाई दौडाई कुट्नु पर्दछ, तर दुस्प्रयाससंग डराएर राज्यको संस्कार परिवर्तन गर्नु हुदैन । यसले जनताको बाच्ने अधिकारलाई कुन्ठित गर्दछ ,जाली फटाहाहरुलाई राज्य संचालनको माथील्लो ओहदामा जाने सिढी बनाउन मदत गर्दछ । केही जनता धनीका धनी हुदै जान्छन् । अनि देश र अरु बाकी जनता सबै सधैका लागी डुबीरहनेछन् भन्दा अत्युक्ति नहोला ।

बिरोध गर्नु, शक्ति प्रदर्शन गर्नु , असहमति जनाउने एउटा प्रजातान्त्रिक अभ्यास हो । सबल र सुसज्जीत राज्य प्रणालीको  यो एक अत्यावश्यक अंग हो । तर बिरोध प्रदर्शनको नाममा राष्ट्रिय सम्पत्ती नष्ट गर्ने, राष्ट्रपति भवन डढाउने, राष्ट्रिय प्रशासनिक भवन डढाउने, प्रहरी कुट्ने मार्ने, प्रशासनलाई धम्की दिने आदी जस्ता सबै कर्तुतहरु प्रजातान्त्रीक अभ्यास भित्र नपर्ने तथा बिरोध प्रकट गर्ने शैलिका परिभाषा भित्र नपर्ने कार्य हुन । यस्ता कार्य रोक्न सरकारले उचित कदम चाल्नै पर्दछ र यसका लागी साम दाम दण्ड भेद सबै निति अपनाउन पर्ने नै हुन्छ । तर त्यसो  भन्दैमा गठे प्रहरीको जमातले निरिहमाथी अन्धाधुन्ध गोली प्रहार गर्न पनि प्रशासनको राज्यमा शान्ती सुव्यवस्था कायम गर्ने कार्यको सम्मानित परिभाषा भित्र पर्दैन ।

सम्पुर्ण देशको सुशासन सुदृढ गर्ने जिम्मा लिएका देशका प्रधानमन्त्री, अझ संसदमा बलियो पकड भएका प्रधानमन्त्री रातारात चोर भागेझै भाग्छन्, सडकमा प्रहरी छैनन्, आगो निभाउने दमकलहरु कता हो लुक्छन्, को नेता हो ? को अगुवा हो ? कस्को नेतृत्व कसले गर्ने ?  सबै प्रश्नै प्रश्न छन् । चिचिला काक्राको खल्पी बनाए झै थुप्रै बालकहरु सडकमा गर्जन्छन्, बालुवाटार रित्तो छ, सिंहदरवार खरानी भएको छ, अनि त्रसित महाराजगन्ज अब म चाडै चुनाव गराउँछु भनेर संसद भंग गर्न अग्रसर हुन्छ  । यो एक सहि नसक्नु बिडम्बना हो ,कुठाराघात हो , परिवर्तनकोे नाममा खोई कुन छद्मभेसीको आदेशको आवर्तन हो , धिक्कार लाग्छ राम तेरो तथाकथित प्रजातान्त्रिक अभ्यास माथी ।

प्रजातन्त्रको पुर्नस्थापनाको नाममा प्रचण्ड र उसका रक्तपिपाशु मतियारका जमातले १७ हजार नेपालीका रगत बगाए । कति टुहुरा भए कति बिधुवा भए, आँशु बगाए, लाचार बने, न्याय माग्न दौडिए । अधिकार माग्ने अधिकारीहरु कोही रुखैमा मारिए । कोहि अनसनले हाडछाला भएर गए । राष्ट्रका लागी भनेर लडेको यो अभियानमा राष्ट्रबादी भनाउदा  नेता र भरौटेहरुले लुट्नु सम्म लुटे । काठमाण्डौमा अस्ति भर्खर सम्म चप्पल लगाएर हिड्ने औकात नभएका नेताका भरौटेरु सरकारी गाडी चढेर रवाफ गर्न थाले,यि भरौटेहरुल मन्दिरको सम्पत्तीसम्म लुट्न छोडेनन् । देशका नाममा गरिएको त्यत्रो क्रान्तीको अहिले आएर के उपदेहता रह्यो । आफ्ना हातमा शक्ति आएका बेला देशलाइ भाइभारदार र बिदेशी भरौटेको जीम्मा लगाएर घर बसीबसी कमिशन खाएर डकार्ने पार्टीका ठालुहरु सत्तामा पुगेपछी राष्ट्रका हालत यस्तै हुन्छ ।

अर्को एउटा बुढो पुरानो राष्ट्रिय ईतिहास बोकेको भन्ने जमातको कुरा गरौ आफै आफैमा लडेर छिमेकी हसाउने दाजुभाई जस्तो यो जमात १७ सालमै   ज्यादा झगडा र लफडा नगरेको भए महेन्द्र राजाले तिमीहरुलाई जेल हालेर पंचायती शैलीमा ३० बर्ष बढार्ने थिएनन् । बल्ल फेरी हात लागेको प्रजातन्त्र तिमीहरुलाई निल्नु न ओकल्नु भयो । राष्ट्रको समग्र आवश्यकताको पहिचान र निती निर्माण गर्नु पर्ने , तर तिमिहरुको घर झगडा र भागबण्डाको मुद्दानै कहिल्यै सकिएन । आज आएर देश हाक्न सक्ने धक्कु लगाउनेहरु कोई लाजले मुन्टो लुकाएका छन्, कोही भागेका छन्, कोही जीती हाल्नेलाई पनि जीतको खुसी प्रस्तुत गर्न गाह्रो परेको छ । यस्तै हुन राम तिमीले प्रजातान्त्रीक अभ्यासका लागी खटाएका बीर सिपाहीहरु ।  वि पी मरी गए, अरुले बि पिलाई सम्झन  पनि भ्याएनन् ।

अब सबैभन्दा नयाँ कुरा गरौ, नेपाली जनता के हुन ?  या त  ज्यादै मुर्ख हुन पर्यो, सबैले घण्टी भन्यो भनेर सबैले घण्टीमा भोट हालेको । या त ज्यादै नै बिद्वान हुन पर्यो , सबैले अब घण्टीमा छाप हानेर रबि लामिछाने र उनैका मतियारलाई सरकारमा पठाउनुपर्छ भन्ने ठानेको हुनुपर्दछ । तर मलाई भने यि दुबै अबस्थामाथी बिश्वास गर्न कठिन  परिरहेको छ । यति ठुला परिवर्तन के २ दिनको आन्दोलन र ७५ जना मारेको काण्डले हो  ?  के यो बृहद आक्रोश नेपाली कांगे्रस , कम्युनिष्ट, माओवादी , राप्रपाको कुकृत्यको परिणाम हो ? के नेपाली जनताको बौदीक स्तर यति न्युन छ कि पार्टीको चुनाव चिन्ह हेरेर पार्टीले उठाएको जो सुकै व्यक्तिको योग्यताको परिक्षण नगरि सांसद बनाउन भोट दिन्छ ? न राजनैतिक छबि , न राजनैतिक कृयाकलाप र संकल्प  न त कुनै योगदान , घण्टीका बरदानले अहिले स्थान पाएर बिजयी भएकाहरुले भोली देश चलाउने मुद्दामा लाजमर्दो पार्न सक्ने सम्भावना पनि छ भन्ने के नेपाली जनतालाई ज्ञान छैन ? पार्टीले पैसाको खोलो बगायो रे पनि भनेको पनि  सुनिएन ।

अरु कुनै पत्तै साफ हुने अरु पार्टीको त्यत्रो बिधिको लाजमर्दो कार्य भएको पनि सुनिएन । अनि यत्रा ठुलो परिवर्तन जन आक्रोसबाटनै आएको  हो त ? प्रश्नहरु धेरै छन उत्तर न रामे सँग छ न म सँग छ । हरे रामे ,  गर्नै नपर्ने चुनाव गराएपछी आउदै नआउने मान्छे नै त पुग्ने हो नी त्यस ठाउँमा । तिमिले ईतिहास रच्यौ, नयाँ चुनिएकाले काम गरे तिमीले गर्दा अनि बिगारे पनि थाप्लो तिम्रै हो । सोचमात्रले बालुवा माथी फुल फुल्दैन, परिश्रम, समर्पण र योगदानले असम्भब पनि सम्भब हुन्छ । रबि र बालेनको व्यक्तिगत क्षमतामा म टिप्पणी गर्न चाहन्न ।

देश चलाउने काम एउटा व्यक्ति मात्रको होईन, हो  एउटा असल कप्तान चाहिन्छ , तर सामुहिक संगठनात्मक र जुझारु एकता नभए असिनाले कुटेर एकएक गर्दै पात झरेको रुख जस्तो राष्ट्र बिकासको प्रयास पनि हाँगा बिना , पात बिना छायाँ दिन नसक्ने रुख जस्तो हुन्छ । उत्साहपुर्वक जिताएर फुल माला अबिर लगाएर पठाएका प्रतिनिधीहरु किंकर्तव्यबिमुढ भएर जव संसद भवनमा भौतारिन्छन, जव कठपुतली भएको अनुभव गर्दछन्, अनि फेरी अर्को पटक मर्नेहरुमा पर्ने ७५ खोज्न थालिन्छ ,  जेनजीहरु बुढा भै सक्छन्, जेन ए आएर फेरी माईतिघर मण्डलामा उफ्रिन्छन्, जीर्णोद्वार गरेको सरकारी भवन फेरी सल्कन थाल्छन्, फेरी अर्को घण्टीको बिरोध गर्दै शंख आउन सक्छ ।

अनि फेरी तिमी जस्तै अर्को रामले संसद बिघटन गरेर नयाँ चुनाव गराउँछ । दिन बित्छ, समय बित्छ, राष्ट्र त्यहि हुन्छ, राष्ट्र बेच्नेहरु महलमा ठुलो टिभिमा समाचार हेरिरहन्छन्,  म फेरी पनि यस्तै अर्को लेख लेख्दै के गरिस् नि रामे भन्दै लेख्न व्यस्त हुन्छु ।

– डा. बिलोल पोखरेल  

सम्बन्धित समाचार

ताजा समाचार