मेक्सिकोका चर्चित पूर्व स्ट्राइकर तथा सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता Javier Hernandez (चिचारिटो) सन् २०२६ को फिफा विश्वकपमा नयाँ भूमिकामा देखिने भएका छन्। मैदानमा गोल गर्दै दर्शकलाई रोमाञ्चित बनाउने चिचारिटो यसपटक Fox Sports का विश्लेषकका रूपमा विश्वकपको समीक्षा र विश्लेषण गर्नेछन्।
दक्षिण अफ्रिका २०१०, ब्राजिल २०१४ र रुस २०१८ विश्वकपमा गोल गर्दै मेक्सिकोको गौरव बढाएका चिचारिटोले आगामी विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा भव्य प्रतियोगिता हुने बताएका छन्। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा पहिलोपटक ४८ राष्ट्र सहभागी हुँदैछन्।
फिफासँगको कुराकानीमा उनले भने, “यसपटक मेरो भूमिका फरक हुनेछ। म मैदानमा खेलिरहेको हुने छैन, बरु माइक्रोफोनमार्फत खेलाडी, टोली र खेलको विश्लेषण गरिरहेको हुनेछु। तीन देशले संयुक्त रूपमा आयोजना गर्ने र धेरै टोली सहभागी हुने भएकाले यो विश्वकप ऐतिहासिक बन्नेछ।”
चिचारिटोले अंग्रेजी भाषामा विश्लेषण प्रस्तुत गर्न पाउनु आफ्नो लागि विशेष अवसर भएको पनि बताए। उनका अनुसार मेक्सिकन खेलाडीले विश्व फुटबलबारे अन्तर्राष्ट्रिय दर्शकमाझ अंग्रेजीमा धारणा राख्नु गर्वको विषय हो।
विश्वकपको सह–आयोजकसमेत रहेको मेक्सिकोबारे बोल्दै उनले टोलीले प्रतियोगिताको सुरुवात बलियो ढंगले गर्नुपर्नेमा जोड दिए। घरेलु समर्थकको साथ र दबाब दुवै हुने भएकाले पहिलो खेलदेखि नै सकारात्मक नतिजा निकाल्न सके मेक्सिकोले विश्वकपमा राम्रो यात्रा तय गर्न सक्ने उनको विश्वास छ।
मेक्सिको फुटबलका प्रतीक मानिने चिचारिटो मैदानबाहिर रहे पनि विश्वकपको माहोलमा भने केन्द्रमै रहने निश्चित देखिएको छ।

