काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि विपक्षी दलहरूको विरोधका बीच सुरु भएको छ। सभामुख डोलप्रसाद अर्याल ले बैठक प्रारम्भ भएको घोषणा गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।लगातार एउटै विषयमा विपक्षी सांसदहरूले ध्यानाकर्षण गराइरहेको उल्लेख गर्दै सभामुख अर्यालले सदनको मर्यादा, समय व्यवस्थापन र कार्यसूचीलाई ध्यानमा राख्न विपक्षी दलका तर्फबाट एक जना सांसदले मात्रै धारणा राखेर बैठक अघि बढाउने प्रस्ताव गरेका थिए।
सभामुखको प्रस्तावअनुसार नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामी लाई बोल्न समय दिइएको थियो। सांसद कामीले प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्याइन्। उनले संसद्मा उठेको प्रश्नको उत्तर पनि संसद्कै रोस्ट्रमबाट दिनुपर्ने बताइन्।
गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले ूभारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ भन्ने कुरा प्रधानमन्त्री भएपछि थाहा पाएूँ भन्ने अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको उक्त भनाइपछि विपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्। विपक्षीको माग छ— प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिलाई पुष्टि गर्ने तथ्य प्रमाण संसद्मा प्रस्तुत गर्नुपर्छ, अन्यथा संसद्मै उभिएर माफी माग्नुपर्छ।सभामुखले पटक–पटक बैठकलाई नियमित कार्यसूचीमा लैजान प्रयास गरे पनि विपक्षी दलहरू आफ्नो अडानबाट पछि नहटेपछि प्रतिनिधिसभाको अवरोध आज पनि कायमै रह्यो।

