सिद्धार्थ बैंकद्वारा घोटला आरोपः ‘भ्रामक सूचना नफैलाउन’ आग्रह

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नाम जोडेर सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा प्रसारित भइरहेको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा केही व्यक्तिहरूले विभिन्न ऋणीहरूको नाम उल्लेख गर्दै बैंकको ऋण प्रवाह तथा असुली प्रक्रियामाथि लगाएका आरोपहरू भ्रामक, आधारहीन तथा बैंकको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले फैलाइएको दाबी गरेको छ।

बैंकका अनुसार, दिलीप सिंह ओली नाम गरेका व्यक्तिले सामाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फत बैंक तथा बैंकका कर्मचारीविरुद्ध आरोप लगाउँदै आएका छन्। तर बैंकले ती व्यक्ति आफूहरूको निक्षेपकर्ता वा ऋणग्राही नै नभएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा बैंकले ऋण प्रवाह, धितो मूल्यांकन तथा असुली प्रक्रिया प्रचलित कानुन, नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकको आन्तरिक कार्यविधिअनुसार सञ्चालन हुँदै आएको उल्लेख गरेको छ। केही ऋणीको ऋण अनियमित भएपछि कानुनी प्रक्रियाअनुसार असुली कार्य अघि बढाइएको पनि बैंकले जनाएको छ।

बैंकले सामाजिक सञ्जालमा कर्मचारीहरूको नाम, तस्बिर तथा बैंकको प्रतिष्ठामा असर पर्ने सामग्री अनधिकृत रूपमा प्रचार–प्रसार गरिएको भन्दै त्यस्ता सामग्रीमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

साथै, बैंकले आफ्ना सेवा वा ऋणसम्बन्धी कुनै गुनासो भए बैंकको आन्तरिक गुनासो सुनुवाइ संयन्त्र, त्यसपछि आवश्यक परे नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइ वा कानुनी प्रक्रियामार्फत समाधान खोज्न आग्रह गरेको छ।

बैंकले सञ्चारमाध्यमलाई समेत कुनै पनि समाचार प्रकाशित वा प्रसारण गर्नुअघि सम्बन्धित पक्षको आधिकारिक धारणा बुझ्न अनुरोध गर्दै अपुष्ट तथा आधारहीन सामग्रीको प्रचार–प्रसार नगर्न अपिल गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार