काठमाडौं । प्रतिनिधिसभामा लगातार ४० दिनदेखि जारी अवरोध अन्त्य गर्ने सभामुख डोलप्रसाद अर्याल को प्रयास बिहीबार पनि सफल हुन सकेन।प्रधानमन्त्री बालेन्द्र शाह को सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले बैठकको सुरुदेखि नै विरोध गर्दै आएका छन्। यही विषयलाई केन्द्रमा राख्दै सभामुख अर्यालले विरोधको शैली परिवर्तन गर्न र विपक्षी दलका तर्फबाट एक जना सांसदले मात्रै धारणा राखेर सदनको नियमित कार्यसूची अघि बढाउन आग्रह गरेका थिए।
सभामुखको प्रस्तावअनुसार हरिनादेवी कामी ले विपक्षीको तर्फबाट धारणा राखे पनि त्यसपछि एक जना सांसदले मात्र बोल्ने व्यवस्थामा विपक्षी दलहरू सहमत भएनन्।त्यसपछि सभामुख अर्यालले विरोधलाई विषयकेन्द्रित बनाउन आग्रह गर्दै सांसदहरूलाई अनावश्यक रूपमा अन्य प्रसंगमा नजान सुझाव दिए।
उनले भने, ‘जुन विषयका लागि विरोध सुरु गरिएको हो, त्यही विषयभित्र रहेर आफ्ना धारणा राख्नुस्। विरोधको शैली पनि समयअनुकूल हुनुपर्छ।’सभामुखले पुनः एक जना सांसदमार्फत विपक्षीको धारणा प्रस्तुत गरी सदनको नियमित कार्यसूचीमा प्रवेश गर्न अनुरोध गरे। तर विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेनन्।
विपक्षीको असहमतिपछि प्रतिनिधिसभामा जारी अवरोध कायमै रह्यो भने संसद्को कार्यसूची प्रभावित बन्न पुगेको छ। यससँगै लामो समयदेखि जारी राजनीतिक गतिरोध कहिले अन्त्य हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित बनेको छ।

