काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस्दै आएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले आफूहरूको व्यवस्थापन गरिदिन सरकारसमक्ष अनुरोध गरेका छन् ।
कीर्तिपुरको राधास्वी सत्संगका परिवारले बिहीबार एक सूचना जारी गर्दै पाँच बुँदामा सरकारलाई आफ्ना मागहरू राखेका हुन् । सरकारी निकायले असार ९ गते ५ दिनभित्र २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरूले आफूहरूलाई व्यवस्थापनका लागि जाने ठाउँ देखाउन भनेको हो ।
‘होल्डिङ सेन्टरबाट स्थायी व्यवस्थापन नहुञ्जेलसम्म सरकारको प्रत्यक्ष सेवा सुविधा पर्याप्त रूपमा दिइयोस् वा व्यवस्थापनका लागि हामीलाई जाने ठाउँ देखाइयोस्, हामी जान तयार छौँ,’ उनीहरूले भनेका छन् ।
विकल्प नदिईकन होल्डिङ सेन्टरबाट पनि बाहिर निकालेमा आफूहरूसँग जाने ठाउँ कतै पनि नभएकाले पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने बताएका छन् ।
‘हामीलाई स्थायी विकल्प नदिईकन यस होल्डिङ सेन्टरबाट बाहिर निकालिएको खण्डमा हाम्रो कहीँ कतै बस्नेस्थान नभएकाले हामी पहिले नै बसोबास गरेको ठाउँमै गएर छाप्रो हाल्न बाध्य हुनेछौँ,’ उनीहरूले भनेका छन् ।

