काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा पदाधिकारी चयनको प्रक्रिया बाँकी रहँदै प्रतिनिधिहरू घर फर्किन थालेपछि महाधिवेशन व्यवस्थापन र निर्वाचन प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ।
मूलतः मंगलबारसम्म सकिने भनिएको महाधिवेशन दुई दिन थप लम्बिएपछि धेरै प्रतिनिधिले चितवन छाड्न थालेका हुन्। हाल ९९ सदस्यीय केन्द्रीय समितिका लागि मतदान जारी रहे पनि सभापति र केन्द्रीय सदस्यको निर्वाचन सकिएपछि मात्रै पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान हुने व्यवस्था छ।
तर पदाधिकारीको निर्वाचन कहिले हुने भन्ने कार्यतालिका अझै सार्वजनिक नभएकाले प्रतिनिधिहरू प्रतीक्षा नगरी फर्किन थालेका छन्। विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले लामो समय बस्न कठिन भएको भन्दै घर फर्किने निर्णय गरेका हुन्।
महाधिवेशनमा सहभागी एक प्रतिनिधिका अनुसार आधाभन्दा बढी प्रतिनिधि चितवनबाट फर्किसकेका छन्। निर्वाचन आयोगले प्रतिनिधिहरूको यकिन संख्या र हाल उपस्थितिको विवरण सार्वजनिक गरेको छैन। आयोगका अनुसार महाधिवेशनमा करिब ४,१०० प्रतिनिधि सहभागी छन्।
पदाधिकारी चयनको महत्वपूर्ण चरण बाँकी रहँदा प्रतिनिधिहरूको घट्दो उपस्थितिले निर्वाचन प्रक्रियामा कस्तो प्रभाव पार्ला भन्ने चासो बढेको छ।

