कांग्रेसको १५औं महाधिवेशनको तयारी तीव्र, ७७ वटै जिल्लामा खटिए प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै नयाँ क्रियाशील सदस्यता वितरणका लागि देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार जिल्लामा खटाइएका प्रतिनिधिहरूले सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने जिम्मेवारी पाएका छन्।

पार्टीले नयाँ क्रियाशील सदस्यता वितरणमा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ। यससँगै पार्टी संगठनलाई थप समावेशी र गतिशील बनाउने कांग्रेसको तयारी छ।केन्द्रीय प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लामा पुगेर स्थानीय पार्टी नेतृत्वसँग समन्वय गर्दै सदस्यता वितरण प्रक्रिया सहजीकरण गर्न निर्देशन दिइएको छ। उनीहरूले असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई जिम्मेवारी पूरा गर्नुपर्नेछ।कांग्रेसले महाधिवेशन केन्द्रित संगठन विस्तारका क्रममा क्रियाशील सदस्यतालाई महत्वपूर्ण आधार मान्दै आएको छ। नयाँ सदस्यता वितरणसँगै आगामी नेतृत्व चयन प्रक्रियामा समेत यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।खटाइएका प्रतिनिधिहरूमा केन्द्रीय सदस्यदेखि पार्टीका विभिन्न तहमा रहेका नेताहरू समेत छन्।

काठमाडौं जिल्लाका लागि सह–महामन्त्री उदय शमशेर राणा, चितवनका लागि केन्द्रीय सदस्य डा. केदार नरसिंह केसीलगायत नेताहरूलाई जिम्मेवारी दिइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार