कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा रहेको गेटा अस्पतालमा भिडियो एक्स–रे र म्यामोग्राफी सेवा बन्द भएका छन् ।
दुवै सेवा रेडियोलोजिस्ट डाक्टर नहुँदा बन्द भएका हुन । २ महिना अघि नै रेडियोलोजिस्ट डा. होम पन्तको कोसीमा सरुवा फिर्ता भएपछि उनले जागिर नै नगर्ने भन्दै राजीनामा दिएदेखि सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले बताए । यसअघि पनि दैनिक २० जनाको मात्रै भिडियो एक्स–रे हुने गरेको गेटा अस्पतालमा हाल सेवा पुरै बन्द भए पनि बिरामी बाहिर निजी अस्पतालमा जान बाध्य भएका छन् ।
यसअघि गेटा अस्पतालमा कार्यरत रहेका डा. पन्तलाई सेती प्रादेशिक अस्पतालको पनि जिम्मेवारी दिइँदा उनी बिहान ११ बजे देखि २ बजे सम्म मात्रै नियमित भिडियो एक्स–रे गर्ने गरेका थिए । डा. पन्तलाई पनि गेटामै कार्यरत रहने गरी नियुक्ति दिइएको भए पनि उनीलाई सेती अस्पतालमा पनि सिटी स्क्यान गर्ने जिम्मेवारी तोकिएकाले २० जनाको मात्रै भिडियो एक्स–रे गर्ने गरिएको थियो ।
सूचना अधिकारी कार्कीले गर्भवती जाँचको लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) डाक्टरले नै भिडियो एक्स–रे गरे पनि अन्य भिडियो एक्स–रे सेवा भने बन्द रहेको बताएका छन् ।

