काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्षको पद रिक्त भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा रास्वपामा प्रवेश गरेपछि पद रिक्त भएको हो ।
निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना जारी गरेको छ । सूचनामा कांग्रेसबाट निर्वाचित गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाको नाम पनि छ ।
उनीसँगै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष बिष्णु ढकाल पनि पदमुक्त भएको निर्वाचन आयोगको सूचनामा उल्लेख छ । अन्सारी र ढकाल पनि कांग्रेसबाटै निर्वाचित भएका थिए ।
गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए । उनी हालै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम उनीहरु पदमुक्त भएको जनाएको छ । त्यसमा दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।


