‘प्रेस र ट्रेड युनियनले प्रभावकारी भुमिका निर्वाह गरे मात्र लोकतन्त्र सुदृढ हुन्छः अध्यक्ष कुँवर

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले मुलुकको लोकतन्त्र, मानवअधिकार र ट्रेड युनियन अधिकारको रक्षाका लागि सञ्चार क्षेत्रको भुमिका अपरिहार्य रहेको बताएका छन् ।

प्रेस र मिडियाले सही ढंगले कार्य सम्पादन गर्नसके मात्रै लोकतान्त्रिक व्यवस्था जीवन्त रहने उनको भनाइ छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले राज्यको चौथो अंगका रूपमा प्रेसले सरकारको प्रभावकारी निगरानी र खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जस्ता राज्यका प्रमुख अंगहरूलाई सन्तुलित राख्न र एकापसमा जोड्न सञ्चार जगतले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने उल्लेख गरे। उनले ट्रेड युनियन र प्रेस आन्दोलनलाई निश्चित मूल्य, मान्यता र सिद्धान्तमा आधारित बनाउनुपर्ने खाँचो औँल्याएका छन्।

उनले भने, हामीले पछिल्ला दिनहरूमा आफ्नो भूमिका कति प्रभावकारी रूपमा निर्वाह गर्न सक्यौँ वा सकेनौँ भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ । अहिले प्रतिकूलता र असहजता रहे पनि संघर्षमार्फत त्यसलाई अनुकूलतामा बदल्नुपर्छ । हामीले आफ्नो मूल्य र भूमिका बिर्सिनु हुँदैन । एकले अर्कालाई दोष दिएर र आफू मात्र ठीक भन्ने मानसिकताले हामी कतै पुग्न सक्दैनौँ, न त जनतालाई न्याय नै गर्न सक्छौँ ।’

राजनीतिक दलहरूमा देखिएको विचलनको प्रभाव कतै यी क्षेत्रमा पनि परेको त छैन भन्दै उहाँले आत्मसमीक्षा गर्नुपर्ने बताए । पत्रकारिता र ट्रेड युनियन आन्दोलनलाई ‘स्थायी प्रतिपक्ष’ का रूपमा चित्रण गर्दै उनले यी क्षेत्रले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा नगर्दा समाजमा अन्य असन्तुष्टिहरूले ठाउँ पाएको बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार