काठमाडौं । नेपाली भाषा, साहित्य, कला तथा सामाजिक सेवाको क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान पुर्याएका वरिष्ठ स्रष्टा अमर वान्तु र हरि ढुंगेललाई हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ अन्तर्गत ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ।
हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ को आयोजक समितिले सार्वजनिक गरेको जानकारीअनुसार वान्तु र ढुंगेललाई नेपाली साहित्य, गीत–संगीत, कला तथा सामाजिक चेतनाको विकासमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको हो।
वरिष्ठ साहित्यकार अमर वान्तुले कविता, गीत, गजल, मुक्तक तथा समालोचनामार्फत नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका छन्। उनका सिर्जनाले नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउन उल्लेखनीय भूमिका खेलेको आयोजकको भनाइ छ।
त्यस्तै गीतकार तथा साहित्यकार हरि ढुंगेलले गीत, कविता, गजल र विभिन्न साहित्यिक विधामार्फत समाजमा सकारात्मक चेतना फैलाउन निरन्तर योगदान दिँदै आएका छन्। उनका सिर्जनाहरूले नेपाली साहित्य र संगीत क्षेत्रमा विशेष पहिचान स्थापित गरेको बताइएको छ।
आयोजकका अनुसार दीर्घकालसम्म सिर्जनात्मक साधनामा समर्पित रहँदै समाजमा सकारात्मक प्रभाव पार्ने दुई व्यक्तित्वलाई सम्मान गर्न लागिएको हो। सम्मान कार्यक्रम हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ अन्तर्गत विशेष समारोहबीच आयोजना गरिने जनाइएको छ।
यस सम्मानलाई नेपाली साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान दिने स्रष्टाप्रतिको सम्मानका रूपमा हेरिएको आयोजकले जनाएको छ।

