काठमाडौं । रूसले पहिलोपटक युक्रेनको सरकारी भवनलाई निशाना बनाएको छ।
शनिबार राति रूसले युक्रेनको राजधानी र अरू सहरहरूमा सरकारी भवनहरूलाई लक्ष्य गरी हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।
कुन-कुन भवनमा लक्ष्य गरेको भनेर नखुलाए पनि विभिन्न सरकारी भवनहरूमा क्षति पुगेको भनिएको छ।
युक्रेनको वायु सेनाका अनुसार शनिबार रूसले गरेको आक्रमण अहिलेसम्मकै ठूलो हवाई हमला हो। जसमा ८१० वटा ड्रोन, चारवटा ब्यालिस्टिक मिसाइल र ९ वटा क्रुज मिसाइल प्रहार गरेको थियो।
अधिकांश ड्रोन र मिसाइललाई युक्रेनको हवाई रक्षा प्रणालीले खसाले पनि ५४ ड्रोन र ९ वटा मिसाइलले युक्रेनका विभिन्न स्थानमा आक्रमण गरेको वायुसेनाले बताएको छ।
पछिल्लो समय युद्धविरामबारे अमेरिकाले प्रयत्न गरिरहेको छ। अलास्कामा ट्रम्पसँग पुटिनले वार्ता गरेयता रूसले युक्रेनमा अझै आक्रामक भएर हमला गरेको छ।
दस दिनअघिमात्रै रूसले युक्रेनको राजधानीलाई लक्ष्य गरी ६३१ वटा ड्रोन र मिसाइल हानेको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले जानाजान हत्यालाई बढावा दिने काम गरेको भनेका छन्। यसले क्रेमलिन युद्धविराम र स्थायी शान्तिका लागि कति गम्भीर छ भन्ने पनि पुष्टि हुने उनले बताएका छन्।

