काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले उक्त प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको ठहर गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताए । उनले गृहमन्त्रीले उक्त प्रकरणमा आफ्नै संलग्नता नरहेको र कुनै गल्ती नरहेको बताएपछि काँग्रेसले उनको कुरालाई पूर्ण रूपमा विश्वास गरेको जानकारी दिए ।
प्रवक्ता महतले भिजिट भिसा प्रकरणमा संलग्नहरूमाथि छानबिन र कारबाही हुनुपर्छ भन्नेमा दुई मत नरहेको स्पष्ट पारे। उनले भिजिट भिसाको दुरुपयोग र भ्रष्टाचार आफूहरूलाई मान्य नभएको बताउँदै त्यसमा गृहमन्त्रीको संलग्नता नरहेको दोहोर्याए ।

