तीनकुने घटनाः ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा

काठमाडौं । तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएको छ । १ सय ८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएकामा जिल्ला सरकारी वकिलको कार्यालयले ६१ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो । अन्य चार नाबालकविरुद्ध भने सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने तयारी छ ।

सरकारी वकिलको कार्यालयले राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गाप्रसाद प्रसाईंलाई पाँच तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबराविरुद्ध चार–चार कसुरमा सजाय मागदाबी गरेको छ ।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवतर्फ, कर्तव्य ज्यानतर्फ, ज्यान मार्ने उद्योग, संगठित अपराध र एकीकृत कसुरमा सजायको माग गरिएको छ । मिश्र र जबरामाथि भने राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।

सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र बनाएर मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको छ । ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्तिविशेष मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ । हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार बालकविरुद्ध भने भक्तपुर बाल अदालतमा सोमबार मुद्दा दायर हुने सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार