प्रिमियरमा सेलिब्रेटीले हेरे ‘अग्निदहन’

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अग्निदहन’को काठमाडौंमा प्रिमियर गरिएको छ । समारोहमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

निर्देशक तथा संगीतकार नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सीप्रथा कायमै रहेकाले यस्ता फिल्म अझै धेरै बन्नुपर्ने बताए ।राजनीतिकर्मी शंकर तिवारीले अधिकांश फिल्ममा समस्या मात्र देखाइने तर समाधान नदेखाइने प्रचलन भइरहेको समयमा ‘अग्निदहन’मा भने गहिराइमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताए ।

कलाकार वीरेन श्रेष्ठले मान्छेको सोचले उसलाई कुन हदसम्म पुर्‍याउँछ भन्ने कुरालाई फिल्मले देखाएको बताए । उनले पुरानो कथालाई सटिक ढंगले प्रस्तुत गरिएको भन्दै प्रशंसा गरे ।निर्देशक तथा कलाकार नरेश पौड्यालले फिल्मले समाजमा व्याप्त भयावह कुरीतिलाई भयानक प्रहार गरेको बताए । कलाकार लोकेन्द्र लेखकले ‘अग्निदहन’ सामाजिक विकृति विसंगति र खासगरी बोक्सी प्रथाविरुद्ध उठाइएको एउटा सशक्त आवाज रहेको बताए । कलाकार तेज गिरीले अर्काको लासमाथि टेकेर पाएको जीवनले मनमा र अर्काको लासमाथि टेकेर पाएको राजनीतिले जीवनमा कहिल्यै शान्ति मिल्दैन भन्दै प्रशंसा गरे ।

परिकल्पनाकार कोविदशरण उपाध्यायले चाँडै नै भारतसँग सीमा जोडिएका तराईका जिल्लामा पनि फिल्म प्रदर्शन गर्ने जानकारी दिए । ‘हामी जहाँ जहाँ पुग्यौं सबैले बोक्सी अन्धविश्वास रहेछ भन्नुभयो’, उनले भने ।उपाध्यायले आफूहरुले बोक्सी प्रथाविरुद्ध विभिन्न किसिमका काम गरेको भन्दै सर्वसाधारणलाई जागरुक गराउन प्रभावकारी हुने भएकाले फिल्म निर्माण गरेको बताए । उनले ‘बोक्सी’का नाममा महिलामाथि कुटपिट गर्ने, मलमूत्र खुवाउने, जिउँदै जलाउने, गाउँ निकाला गर्ने जस्ता जघन्य अपराध र कुप्रथा भएको ठाउँमा यसविरुद्ध सचेतना जगाउन फिल्म प्रभावकारी बनेको दाबी गरे ।घनश्याम लामिछाने निर्देशित फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।

 

फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ । फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार