चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले ले मुलुकमा विधि, नीति र संस्थागत प्रणालीलाई केन्द्रमा राखेर शासन सञ्चालन गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा सक्रिय भएको बताएका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको लक्ष्य पुराना पुस्तासँग प्रतिस्पर्धा वा संघर्ष गर्नु नभई देशमा नयाँ राजनीतिक संस्कृति स्थापित गर्नु रहेको स्पष्ट पारे। उनका अनुसार राजनीतिलाई व्यक्तिविशेषको प्रभावभन्दा माथि उठाएर नियम, नीति र संस्थागत प्रक्रियामा आधारित बनाउन आवश्यक छ।
वाग्लेले मुलुकमा पारदर्शी, जवाफदेही र परिणाममुखी राजनीतिक अभ्यासको खाँचो रहेको उल्लेख गर्दै नयाँ पुस्ताले केवल आलोचना गर्ने मात्र नभई देशलाई सही दिशा दिन सक्ने क्षमता पनि राख्ने बताए। उनले युवाको ऊर्जा, दक्षता र नवीन सोचलाई राष्ट्र निर्माणको मुख्य आधार बनाउनुपर्ने धारणा व्यक्त गरे।
उनले नेपाललाई सुशासन, आर्थिक विकास र संस्थागत सुधारको मार्गमा अघि बढाउन रास्वपाले राजनीतिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको बताए। देशलाई सकारात्मक परिवर्तनतर्फ डोर्याउन पार्टी प्रतिबद्ध रहेको उनको भनाइ थियो।
वाग्लेले आफूहरू केवल विरोधको राजनीतिमा सीमित नरहने स्पष्ट पार्दै आवश्यक परे मुलुकको नेतृत्व र रूपान्तरणको जिम्मेवारी लिन पनि तयार रहेको बताए। उनका अनुसार राजनीतिक परिवर्तनसँगै शासन प्रणाली, सार्वजनिक सेवा प्रवाह र विकाससम्बन्धी सोचमा समेत व्यापक सुधार आवश्यक छ।

