काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता वालेन्द्र शाह र नेपाली कांग्रेसका सभापति गगन थापाले मञ्च शेयर गरेका छन् । रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटनमा तीन नेता एउटै मञ्चमा पुगेका हुन् ।
सहकारी ठगी प्रकरणमा गगनले संसदबाट संसदीय छानबिन समिति गठन गरेर टुंगोमा पुग्न निरन्तर माग गरेपछि दुईबीचको सम्बन्ध बिग्रिएको थियो । रविले पनि आफूमाथि अनावश्यक आरोप लगाएको भन्दै थापामाथि खनिने गरेका थिए । राजनीतिक विषय भए पनि पार्टीगत र समर्थकको तहमा दुईतिर बाँडिएका थिए ।
तर, २१ फागुनको निर्वाचनमा सबैभन्दा ठूलो दल भएर आएको रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन उद्घाटनले यी फरक नेतालाई एउटै मञ्चमा उभ्याएको छ । रविको निमन्त्रणामा दोस्रो ठूलो दलका सभापति थापा शुभकामना मन्तव्य दिन चितवन पुगेका हुन् ।
रवि र बालेन मञ्चमा पुगेलगत्तै उनीहरूले सबैसँग हात मिलाएका थिए । रविले पहिलो हात गगन थापासँगै मिलाए । चितवन जानुअघि थापाले सामाजिक सञ्जालमार्फत प्रिय रवि लामिछाने भन्दै शुभकामना दिएका थिए ।

