काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीचको बहुप्रतीक्षित सहकार्य अन्ततः असफल भएको छ। गएरातिसम्म चलेको लामो वार्तामा पावर सेयरिङ र जिम्मेवारी बाँडफाँटका विषयमा सहमति नजुटेपछि एकताको सम्भावना टुटेको हो।
दुवै पक्षबीच यसअघि पनि पटक–पटक संवाद भए तापनि ठोस निष्कर्षमा पुग्न नसकिएको पृष्ठभूमिमा पछिल्लो वार्तालाई निर्णायक मानिएको थियो। तर, सहकार्यको ढाँचा र नेतृत्वको भूमिकामा मतभेद कायमै रहँदा प्रक्रिया बीचमै रोकिएको स्रोतहरूले जनाएका छन्।
वार्ता विफल भएपछि जेन–जी अभियन्ता सुदन गुरुङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। उनले परिवर्तनको अपेक्षा बोकेका नागरिकका लागि यो अवस्था निराशाजनक मात्र नभई गम्भीर संकट भएको टिप्पणी गरेका छन्।
गुरुङले यस्तो संवेदनशील घडीमा व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर सबै प्रमुख शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन्। कसैलाई जबर्जस्ती कुनै पक्ष रोज्न बाध्य पार्नु गलत हुने भन्दै उनले देशलाई विभाजन होइन, एकताको बाटो चाहिएको स्पष्ट पारेका छन्।
निर्णायक मोडमा आएर पनि एकताबाट पछि हट्नु जनभावनाविपरीत भएको उनको निष्कर्ष छ। सहकार्य विफलताले परिवर्तनको एजेन्डामाथि नै प्रश्न उठाएको भन्दै उनले नेताहरूलाई आत्मसमीक्षा गर्न चेतावनीस्वरूप सन्देश दिएका छन्।

