इटहरी । भोजपुरको दिङ्लाबाट श्रीमानसहित इटहरी आएकी पबीमाया बयलकोटीको आफ्नै ज्वाइँले हत्या गरेको खुलेको छ ।
प्रहरीका अनुसार आइतबार राति घर फर्किने तयारीमा रहेकी पबीमायामाथि ज्वाइँ गणेश साह गुप्ताले ट्युबेलको हेण्डल प्रयोग गरी टाउकामा प्रहार गरेका थिए । गम्भीर घाइते भएकी पबीमायाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
छोरी र ज्वाइँबीच लामो समयदेखि घरेलु विवाद चलिरहेको र सोही विवाद मिलाउन खोज्दा सासूको हत्या भएको प्रारम्भिक निष्कर्ष प्रहरीको छ । घटनापछि फरार रहेका गणेश साह गुप्तालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनाले स्थानीयस्तरमा सनसनी फैलिएको छ भने मृतकको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

