काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताको उत्साहबीच नेपाल प्रहरीले सर्वसाधारणलाई अनलाइन बेटिङ तथा जुवाजन्य एप र वेबसाइट प्रयोग नगर्न आग्रह गरेको छ। यस्ता गतिविधि नेपालमा गैरकानूनी रहेको उल्लेख गर्दै प्रहरीले आर्थिक तथा साइबर अपराधको जोखिमप्रति सचेत रहन अनुरोध गरेको हो।
प्रहरीका अनुसार पछिल्ला दिनहरूमा फुटबलसहित विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ प्लेटफर्महरूको प्रचार–प्रसार तीव्र रूपमा बढेको छ। सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यममार्फत छिटो आम्दानीको लोभ देखाई मानिसहरूलाई बेटिङमा सहभागी गराउने प्रयास भइरहेको भन्दै विशेष सावधानी अपनाउन भनिएको छ।
अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक नोक्सानी मात्र नभई व्यक्तिगत विवरण चोरी, बैंक खाता तथा डिजिटल वालेटको दुरुपयोगजस्ता जोखिम पनि बढ्ने प्रहरीको भनाइ छ। यस्ता प्लेटफर्ममार्फत विभिन्न प्रकारका साइबर ठगीका घटना हुन सक्ने भएकाले प्रयोगकर्ताले सतर्कता अपनाउनुपर्ने प्रहरीले जनाएको छ।
प्रहरीले विश्वकप फुटबलको रोमाञ्चक खेलको आनन्द सुरक्षित र कानूनी सीमाभित्र रहेर लिन आग्रह गर्दै अवैध बेटिङ गतिविधिबाट टाढा रहन सबैलाई अपिल गरेको छ। साथै, बेटिङको प्रचार–प्रसार वा सञ्चालन भइरहेको जानकारी पाएमा सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा सूचना दिन पनि अनुरोध गरिएको छ।
खेलकुदलाई मनोरञ्जन, स्वस्थ प्रतिस्पर्धा र सकारात्मक सामाजिक संस्कृतिको माध्यमका रूपमा लिनुपर्ने उल्लेख गर्दै प्रहरीले अवैध बेटिङ प्रवृत्तिले समाजमा नकारात्मक असर पार्न सक्ने भएकाले यसको नियन्त्रणमा सबैको सहकार्य आवश्यक रहेको जनाएको छ।

