काठमाडौं । गणतन्त्र दिवसकै दिनबाट राजावादीहरूको संयुक्त मोर्चाले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दैछ ।
नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले घोषणा गरेको संयुक्त जनआन्दोलन काठमाडौं केन्द्रित हुनेछ । तर, समितिले अहिलेसम्म कुनै पनि ठाउँमा प्रदर्शन गर्नका लागि अनुमति नमागेको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए ।
राजावादीहरूले भोलिबाट हुने आन्दोलन व्यवस्था उल्टाउने जनविद्रोह भएकाले अनुमति लिइराख्नु नपर्ने बताएका छन् । यद्यपि, प्रशासनलाई जानकारी भने गराइने राप्रपा नेपालका एक प्रवक्ता राजाराम बर्तौला बताएका छन् ।
संयुक्त जनआन्दोलन समितिले यसअघि नै रत्नपार्कबाट आन्दोलन उठाउने घोषणा गरिसकेको छ । यता, प्रहरी उच्च स्रोतले भने राजावादीलाई रिङरोडभित्र कार्यक्रम गर्न नदिने रणनीति बनाएको छ ।

