चुरोट र रक्सीमा कर नबढाउन आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

बुधवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले चुरोट र रक्सीमा कर बढ्ने चाल पाएपछि उत्पादन बढाएर नयाँ गोदामभित्र सामान भरेर बजारमा अभाव देखाउने व्यापारीको दम्भ अन्त्यका लागि पनि कर बढाउनु उपयुक्त नहुने बताए। उनले विगतलाई हेर्ने हो भने साँठगाँठमा भन्सारमा हुने चुहावट रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । अहिले नेपालमा विचौलियाको कुरा धेरै चलेको बताए ।

उनले भने, ‘बजेट आउँदैछ । बजेटमा करका दर बढाउनु भनेको चलखेल पनि हो । तसथ करको दर बढ्ने चाल पाएपछि वा चाल दिएपछि उत्पादन बढाएर नयाँ नयाँ गोदामभित्र आफ्ना सामान भरेर राख्ने व्यापारीहरु छन् । तसर्थ मेरो दुई हात जोडेर बिन्ति छ कमसेकम यसपटक चुरोट र रक्सीमा कर नबढाउनुस् । अनि हेरौं व्यापारीको दम्भ । भन्सारको मात्र कुरा गर्ने हो भने ५० प्रतिशतको मात्र भन्सार असुली हुने साथै ठूलो साँठगाँठमा फरक बाटो प्रयोग गरी सामान भित्रिन्छ । रोक्ने परको कुरा रोक्नमा सरकारको ध्यान जाओस् । हामी संसदमा पक्षमा हुँदा बजेटमा तालि बजाउँछौं । विपक्षीमा हुँदा कमा र फुलस्टप समेत चेन्ज नगरेको कस्तो बजेट हो यो भन्छौं । नेपालमा विचौलियाको कुरा धेरै हुन्छ हरेक ठाउँमा काम गर्ने मान्छेहरु चाहिन्छ । त्यसैले हामीकहाँ नयाँ नयाँ लोकतन्त्र भएर हो वा कुरा गर्न नपाएर हो या सञ्चार क्षेत्रले अरु कुरा गर्ने समय नभएर हो विचौलियाकै कुरा धेरै भइरहेको छ ।’

उनले संसदमा पक्षमा हुँदा सरकारले जे गरेपनि तालि बजनाउने र विपक्षमा हुँदा विरोधमात्र गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

ताजा समाचार