दुई तिहाइको सरकार सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा चुक्योः सांसद  विष्ट

काठमाडौं- राष्ट्रिय सभा सांसद नरबहादुर विष्टले प्रधानमन्त्रीले बोलाएको बैठकमा काँग्रेस सभापति नगएको भोलिपल्टै नेपाल राष्ट्र बैंकको गभर्नरमा सहमति भएको बताएका छन् ।
बुधवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले ढिलो गरेरै भएपनि राष्ट्र बैंकको गभर्नर नियुक्ति गरेकोमा सरकारलाई धन्यवाद दिए। सांसद विष्टले वर्तमान टेक्नोलोजिको युगमा पनि नेपालका सरकारी अस्पतालहरुको वेथिति अन्त्य हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। उनले सरकारी अस्पतालहरुमा खरिद गरिएका र थन्किएर बसेका अरबौंका उपकरण सञ्चालनमा ल्याउन माग गर्दै आम नागरिकलाई सुशासनको प्रत्याभुत गराउन आग्रह गरे । उनले अबको केही दिनमा बजेट आउँदै छ बजेटले समग्र मुलुकको विकासका लागि र सबैलाई अटाउने गरी निष्पक्ष ढंगले बजेट ल्याउन सरकारको ध्यानाकर्षण गराए। उनले दुई तिहाइको सरकारले सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा चुस्त हुन नसकेको आरोपसमेत लगाए।
उनले भने, ‘खसगरी यतिबेला सरकार झन्डै दुई तिहाइको सरकार छ । हिजोमात्र राष्ट्र बैंकको गभर्नर नियुक्ति भएछ । किनभने अस्ति नेपाली कांग्रेसका सभापति प्रधानमन्त्रीले बोलाएको बैठकमा नगएपछि सरकार केही हुन्छ कि भन्ने डरले हिजो बिहान सहमति भएर नियुक्ति भए छ त्यसका लागि धन्यवाद । अहिले युवा स्वास्थ्य मन्त्री हुनुहुन्छ । मैले दुई तिन दिन नेपालका सरकारी अस्पतालमा नियालेर हेर्दा वीर अस्पताल, टिचिङलगायतका अस्पतालमा बिहान चार बजेबाट मानिसहरु लाइन लागेका हुन्छन् । अहिलेको टेक्नोलोजीको युगमा जुन खालको सुशासनको प्रत्याभूति पाउनुपर्ने हो त्यो पाउन सकेका छैनन् । हाम्रो युवा स्वास्थ्य मन्त्रीलाई के आग्रह गर्न चाहन्छु भने कम्तिमा अनलाइन सिष्टमबाट टिकट काट्ने व्यवस्था गरिदिएमा वृद्धवृद्धालाई सुविधा हुन्थ्यो त्यसैले त्यतातर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सरकारी स्वास्थ्य संस्थामा भएका अरबौंका सामानहरु कामबिहीन अवस्थामा छन् त्यसतर्फपनि सरकारको ध्यान जाओस् । अर्को कुरा कर्णाली प्रदेश जलसम्पदा भएको ठाउँ तरपनि करिब १५ वर्षदेखि निर्माणाधीन अपर कर्णाली आर्थिक स्रोत जुटाउन नसक्दा पुनः विदेशी कम्पनीहरुसँग सम्झौता गरेर अघि बढ्न खोजेको छ । तर, समग्र कर्णालीबासीको सपनामा कुठाराघात भएको छ । त्यसैले जुन खालको यो दुई तिहाइको सरकारलाई एउटा सुशासन र भ्रष्टाचारविरुद्धको अभियान चुस्त बनाउनुपथ्र्यो त्यसो हुन सकेन । केही समयपछि बजेट आउँदैछ । बजेट समग्ररुपमा मुलुकको विकास, सबैलाई अटाउने र समग्र विकासको लागि निष्पक्ष ढंगले ल्याओस् भनेर आग्रह गर्न चाहन्छु ।’
उनले विगत १५ वर्षदेखि निर्माणाधीन अपर कर्णाली सम्पन्न हुन नसक्दा समग्र कर्णालीवासीको सपनामा कुठाराघात भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार

ताजा समाचार