युवा कार्यकर्तालाई प्रधानमन्त्रीको आग्रह- मिसन ०८४ मा लाग्नुस्

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको चिन्ता नगरी मिसन ०८४ मा लाग्न युवा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

बिहीवार लोकतन्त्रको स्थापना दिवसको अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको ‘युथ सेलिब्रेसन’मा बोल्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् । उनले काँग्रेस–एमालेको संयुक्त सरकार स्थिरता र स्थायित्वको लागि बनेको जिकिर गरे ।

उनले सरकार मुलुकलाई स्थायित्व दिने ध्याउन्नमा अगाडि बढिरहेको उल्लेख गर्दै सरकारको चिन्ता नगर्न समेत आग्रह गरे ।

उनले नेकपा एमालेको ध्यान सरकारमा नभई चुनाव केन्द्रित हुने समेत टिप्पणी गरे । संसदको बनावटअनुसार देशलाई ठिक ढंगले अगाडि बढाउने प्रयास पार्टीले गरिरहने उनको दाबी छ ।

उनले भने, ‘यतिबेला नेकपा (एमाले) र नेपाली काँग्रेसबीच बनेको संयुक्त सरकार एउटा संकल्पका साथ बनेको सरकार हो । यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । र यसले स्थिरता र स्थायित्व दिन्छ । त्यही ध्याउन्नमा अगाडि बढिरहेको छ । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नुपर्दछ । त्यसैकारण नेकपा (एमाले) ले सरकार बनाउ र सरकार बचाउ भनेर कराएको छैन । नेकपा एमालेले जहिले पनि के भन्छ भने चुनाव हेरेको हुन्छ । हामीले ०७० को चुनाव हे¥यौं । ०७४को चुनाव भन्यौं, ०७९ को चुनाव भन्यौं र ०८४ को चुनाव भनिरहेका छौं । मिसन ०८४ भनेका छौं । म साथीहरूलाई आग्रह गर्न चाहन्छु ढुक्कले मिसन ०८४ मा लाग्नुस् । सरकार चलाउने, सरकारको नेतृत्व गर्ने काममा अहिलेको संसदको बनावट अनुसार देशलाई ठिक ढंग अगाडि बढाउने प्रयास नेकपा एमालेले गर्नेछ । त्यसकारण यस कुरामा चिन्ता नगर्नुस् । मिसन ०८४ मा ध्यान दिनुस् ।’

स्वदेशी तथा विदेशी तत्त्वहरू मुलुकलाई प्रतिगमनतिर धकेल्ने काम गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ ।

सम्बन्धित समाचार

ताजा समाचार