अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा रशिला र प्रिन्सको जोडी पराजित

नेपालका प्रिन्स दाहाल र रशिला महर्जनको जोडी नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जअन्तर्गत मिक्स डबल्सको सेमिफाइनलमा पराजित भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रिन्स र रशिलाको जोडी पराजित भएसँगै नेपाल काँस्य पदकमा नै सीमित भयो । नेपाल नम्बर एकको जोडी सेमिफाइनलमा थाइल्यान्डका नोन्ताकोर्न थोङ अन र कोड्चापोर्न चाइचानाको जोडीसँग २१–१५, २१–१७ को सोझो सेटमा नै पराजित भए । यससँगै घरेलु कोर्टमा जारी च्यालेन्जमा नेपालको चुनौती समाप्त भएको छ । नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टनमा घरेलु टोलीबाट ९ पुरुष र सात महिला खेलाडीले कुल पाँच विधामा चुनौती प्रश्तुत गरेका थिए । त्यसमध्ये मिक्स डबल्समा कांस्यबाहक नेपाल पदकविहीन बन्यो ।
यसअघि यसै विधामा क्वार्टरफाइनलमा नेपालकै प्रतिद्वन्द्वीबीच प्रतिष्पर्धा हुने तय भएपछि मंगलबार नै घरेलु टोलीको काँस्य पदक पक्का भएको हो । प्रिन्स र रशिलाको जोडीले बुधवार नै घरेलु प्रतिद्वन्द्वी क्षितिज खनाल र शोभा गौचनको जोडीलाई २१–११ र २१–१२ ले सहजै हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । तर, सेमिफाइनलमा भने प्रिन्स र रशिलाको जोडी थाइल्यान्डको प्रतिद्वन्द्वीसँग पराजित हुन पुगे । मिक्स डबल्समा मलेसियाका लाउ यी सेङ र याप रुइ चेनको जोडीले पनि फाइनलमा स्थान बनाए । यो जोडीले सेमिफाइनलमा भारतका हेमानागेन्द्र बाबु थानड्राङ्गी र श्रीललिता सुप्रिया यल्लाप्रागाडाको जोडीलाई २१–१०, २१–९ ले हराएका हुन् ।
महिला एकलमा भारतकी इरा शर्मा र थाइल्यान्डकी ललिनरात चाइवानबीच उपाधि भिडन्त हुने भएको छ । ईराले सेमिफाइनलमा थाइल्याण्डकी तिदापोर्न क्लिबिसुनलाई १५–२१, २५–२३, २१–१५ र ललिनरातले अमेरिकाकी इसिका जैसवाललाई २१–१४, २१–१७ ले हराएका हुन् । नेपाल ब्याडमिन्टन संघको आयोजनामा जारी च्यालेन्जमा नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, ईरान, ईटाली, संयुक्त अरब इमिरेट्स (युएई), जाम्बिया, युगान्डा, इङ्ल्यान्ड, न्युजिल्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापानका कुल एक सय ७४ खेलाडीले यस च्यालेन्जमा प्रतिष्पर्धा गरिरहेका छन् ।
च्यालेन्जमा पुरुष÷महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा भैरहेको छ । कुल १५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको च्यालेन्जका विजेता, उपविजेता, सेमिफाइनलिस्ट र क्वार्टरफाइनलिस्टले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त पाउनेछन् । च्यालेन्जलगत्तै आगामी पुष १२ देखि १४ गतेसम्म नेपाल जुनियर अन्तर्राष्ट्रिय सिरिज २०२४ आयोजना हुँदै छ । जुनियरमा पनि आयोजक नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, ईरान र युएईका कुल एक सय सात खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । नेपालबाट जुनियरमा ८ पुरुष र ८ महिला खेलाडीको प्रतिस्पर्धा हुँदैछ । सिरिजमा पुरुष÷महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिष्पर्धा हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार