काठमाडौं । हङकङलाई हराउँदै नेपालले एशियाली खेलकुद छनोटको उपाधि जितेको छ । सिङ्गापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनले हरायो ।
हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो । नेपालका कुशल भुर्तेलले ६५, रोहित पौडेलले नटआउट ३५ रन बनाए । हङकङका आयुष शुक्ला र एहसान खानले १र१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो । हङकङका अंशुमन रथले ८०, शाहिद वासिफले ५५ रन बनाए । नेपालका शेर मल्लले ४ विकेट लिए ।
यस्तै ओमानलाई हराउँदै मलेशिया एशियाली खेलकुद छनोटमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि आज भएको खेलमा मलेशियाले ओमानलाई ८ विकेटले हरायो ।
यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेशिया र ओमान एशियाली खेलकुदमा छनोट भएका छन् ।

