अराजक बनिन् सांसद कुसारी, समिति सभापति साहलाई प्रहार गरिन् माइक

नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले समितिको बैठकमा अराजक व्यवहार देखाएकी छन् ।

सांसद कुसारीले प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको बैठकमा अराजक बनेकी हुन् । उनले सभापति किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरेकी छन् ।

बुधवार भएको बैठकमा माओवादीकी सांसद कुसारीले नेम प्लेट र माइकले सभापति साहलाई प्रहार गरेकी हुन् ।

समिति सभापति साहले सांसद कुसारी समिति बैठकमा ढिला गरी आएको र अनुमति बेगर बोल्न थालेको विषय उठाएका थिए । त्यसपछि उनीहरूबिच भनाभन भएको थियो ।

‘उहाँ ढिला आउनुभयो । अनुमतिबिनै बोल्न सुरु गर्नुभयो । माइक फाल्नुभयो । धन्न मतिर आएन, सांसदहरू भएतर्फ गयो’ सभापति साहले भने ।

सांसद कुसारीले भने समिति सभापति साह सधैँ आफै संयोजक भएर अनुगमनमा जाने गरेको आरोप लगाइन् । उनले सभापति साहसँग समितिका अधिकांश सदस्य असन्तुष्ट रहेको दाबी गरिन् ।

‘मैले माइक र नेमप्लेटले हानेको हो, लागेन, भनाभन भयो’, कुसारीले भनिन्, ‘बैठकमा भएको भनाभनपछि सभामुखले बोलाउनुभएको छ । अब कि म त्यो समितिमा बस्दिनँ कि सभापति हटाउनुपर्छ ।’

सम्बन्धित समाचार

ताजा समाचार