नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्बित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन् ।
शनिवार बानेश्वरमा बसेको संसदीय दलको बैठकले निलम्बित सांसदद्वय राई र बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका हुन् ।
बैठकमा सभापति देउवाले राख्नुभएको धारणा उद्धृत गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले घिमिरे र बस्नेत पक्राउ परेकोबारेमा सांसदहरूले आवाज उठाएको र सभापति देउवाले जवाफ दिएको बताए ।
उनकाअनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने र आफूहरू पनि जेल बसेर आएको पार्टीका सांसदहरूलाई स्मरण गराए । बैठकपछि संसदीय दलको बैठकका निर्णय सुनाउने क्रममा प्रमुख सचेतक घिमिरेसँग सञ्चारकर्मीहरूले काँग्रेसका निलम्बित सांसदद्वय माया राई र मोहन बस्नेतको बारेमा प्रश्न गरेका थिए ।
उनले भने ‘उहाँहरूको कुरा पनि उठ्यो, उहाँहरूको विषयमा पनि सांसदहरूले कुरा उठाउनु भयो । त्यो विषयमा सभापतिज्यूले जवाफ दिनुभयो । राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौँ, थुनामा बसेर आएका हौँ भन्नेकुरा राख्नुभयो । यो विषयलाई ठूलो अर्थमा लिनु हुँदैन, राजनीतिमा हामी पनि बसेका हौँ भन्नुभयो ।’
माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने बारेमा कुनै एजेण्डा नरहेको स्पष्ट पारे । काँग्रेसले सरकार परिवर्तनको बारेमा कुनै सोच नराखेको पनि बताए ।

