युएनडिपीका उपाध्यक्ष अचिम स्टेनरले सन् २०४५ सम्ममा कार्बन न्युट्रिलिटी हासिल गर्ने नेपालको महत्वाकांक्षाले विश्वका लागि पछ्याउन सकिने प्रेरणादायक उदाहरण प्रस्तुत गरेको बताएका छन् ।
काठमाडौँमा जारी सगरमाथा संवादका क्रममा भिडियो सन्देश दिँदै उपाध्यक्ष स्टेनरले अहिले विश्वको प्रमुख समस्या बनिरहेको जलवायु परिवर्तनको पहलमार्फत युएनडिपी विश्वभरका एक सय ४० देशसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रुपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाउँदा गर्वको अनुभूति गरिरहेको बताएका हुन् ।
उनले सगरमाथा संवादलाई सम्बोधन गर्न पाउनु नै आफ्ना लागि विशेष सम्मान भएको बताए । सगरमाथा संवाद संसारको सर्वोच्च शिखर सगरमाथाबाट प्रेरित भएको उल्लेख गरेका छन् । एभरेष्टका नामबाट विश्वमा परिचित सगरमाथा दृढताको एक प्रकाशस्तम्भ तथा मानव संघर्षको प्रतिकको रुपमा उभिएको उपाध्यक्ष स्टेनरले बताए । नेपाल र हिमालहरू जलवायु संकटको अग्रपङ्क्तिमा रहेको पनि बताए ।
उनले भनेका छन् ‘जलवायु परिवर्तनका कारण हिमनदी र नदीहरूसहितको यो अनुपम पारिस्थितिक प्रणाली दक्षिण एसियाका करिब २ अर्ब जनसंख्याका लागि जीवनरेखा हो । जसले जलस्रोत, खाद्य सुरक्षास् जीविकोपार्जन र अर्थतन्त्रलाई धानेको छ । यो जैविक विविधताको एक सुरक्षित आश्रयस्थल पनि हो । जसले थुप्रै दुर्लभ र लोपोन्मुख प्रजातिहरूलाई संरक्षण दिँदै आएको छ । तर यो अनुपम भू–दृश्य अहिले जलवायु परिवर्तनको कारण अस्तित्वको सङ्कटसँग जुधिरहेको छ । हिन्दुकुश–हिमालय क्षेत्रमा रहेका हिमनदीहरु तीव्र दरमा पग्लिँदै गइरहेका छन् । यो क्षति अघिल्लो दशकको सन् १०११ देखि २०२० को बीचमा भएको तुलनामा ६५ प्रतिशत छिटो थियो । २०२४ देखि २०२५ को हिउँदमा ऐतिहासिक रुपमा न्यून हिमपात भयो । जसले करोडौँ मानिसहरूको लागि आसन्न जल संकटको सङ्केत दिएको छ । यी नयाँ तथ्याङ्कहरू होइनन् । यी त ज्ञात जीवन शैलीमा जलवायु परिवर्तन र त्यसका विनाशकारी प्रभावाहरुबाट जोगिन तथा अनुकूल गर्न तत्काल कदम चाल्नुपर्ने आहानहरू हुन् । संयुक्त राष्ट्रसंघ परिवारको रुपामा, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले विश्वभर यस्ता चुनौतीहरूको सामना गर्न सहयोग गरिरहेको छ । एशिया र प्रशान्त क्षेत्रमा हामी जोखिमको पूर्वानुमान गर्न प्रारम्भिक चेतावनी प्रणालीहरू सुदृढ गर्दैछौं र प्राकृतिक विपत्तिहरू तथा झट्काहरूको सामना गर्नसक्ने क्षमता निर्माण गरिरहेका छौं । नेपालमा, हामी सरकार र जनतासँग काँध मिलाएर उभिएका छौं ताकी पर्वतीय समुदायलाई जलवायु परिवर्तनका बढ्दो जोखिमहरूबाट जोगाउन सकियोस् ।’
उनले युएनडिपी विश्वभरका १ सय ४० भन्दा बढी देशहरूसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रुपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाएकोमा गर्वको अनुभूति भएको उल्लेख गरेका छन् ।

