प्रचण्डलाई योगेशको प्रश्न- ‘प्रधानसेनापति हटाउनेले सहसचिव हटाउँदा मुटुमै गोली लागेको जस्तो किन ?’

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारले सहसचिव तहका एक कर्मचारी हटाएको विषयलाई लिएर अनावश्यक हल्ला र राजनीतिक आरोप लगाइएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

सरकारको मातहत रहने कर्मचारी व्यवस्थापन सरकारको स्वाभाविक अधिकारभित्र पर्ने उनको भनाइ छ । सांसद भट्टराईले उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रधानसेनापति र मुख्यसचिव हटाएको स्मरण समेत गराए । उनले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले मुख्यसचिव हटाएको र हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पद खडा गरेको आरोप समेत लगाए ।

उनले प्रधानसेनापति हटाउने र मुख्यसचिव हटाउनेलाई अहिले सहसचिव हटाउँदा मुटुमै गोली लागेको जस्तो किन भइरहेको छ ? भन्दै प्रश्न गरे ।

उनले भने ‘केही कर्मचारीलाई सरकारले हटायो । त्यो एउटा सरकारको अवशिष्ट अधिकार पनि हो । कर्मचारी सरकारको मातहत हुन्छ । त्यसमा समीक्षा गर्न सकिन्छ । म कमरेड प्रचण्डलाई भन्न चाहन्छु तपाईँले त प्रधानसेनापतिलाई नै हटाउनु भयो । एकपल्ट सम्झिनु त । एकचोटि सम्झिनु त अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनु भयो । तर एउटा हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोस्ट खडा गर्नुभयो । अनि को अर्को मुख्यसचिव ल्याउनुभएको थियो तपाईँले रु अनि केपी ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता र मुटुमै गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भइराखेको छ ।’

उनले सरकार र कर्मचारीबिच ‘ट्युनिङ’ नमिल्दा गरिएको व्यवस्थापनलाई अस्वाभाविक रुपमा नहेर्न आग्रह गरे ।

सम्बन्धित समाचार

ताजा समाचार