भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय स्वाधीनता, स्वाभिमान र अखण्डताको पक्षमा गम्भीर चिन्तन आवश्यक रहेको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित दिवंगत नेता मनमोहन अधिकारीको २६औं स्मृति सभालाई सम्बोधन गर्दै पोखरेलले नेपालजस्तो दुई ठूला छिमेकीबीच रहेको मुलुकले भूराजनीतिक संवेदनशीलता नबुझी अघि बढ्न नसक्ने स्पष्ट पारे । उनले भारत र चीनसँग जोडिएको सीमाको भौगोलिक अवस्थाबारे चर्चा गर्दै भारतसँगको खुला सिमाना र विगतका अद्यावधिक नभएका सन्धि-सम्झौताले चुनौती थपेको उल्लेख गरे ।

‘दक्षिण, पूर्व र पश्चिमतर्फ १८ सय किलोमिटर भारतसँग सीमा जोडिएको छ भने उत्तरतर्फ १४ सय किलोमिटर चीनसँग । चीनतर्फ हिमालले पर्खालको काम गरे पनि भारतसँग खुला सीमा छ र सन्धिहरू यथावत छन्,’ पोखरेलले भने ।

नले राष्ट्रिय स्वाधीनता र जनताको हितका लागि एमाले निरन्तर प्रतिकूलतासँग लड्दै आएको जिकिर गरे । ‘हिजो सत्तामा नभएको बेला होस् वा आज सत्ता सम्हालिरहेको बेला, एमालेले कहिल्यै आफ्नो आदर्श र उद्देश्यबाट विचलित भएन,’ पोखरेलले स्पष्ट पारे ।

समसामयिक राजनीति र पार्टीप्रति भइरहेका टिप्पणीप्रति संकेत गर्दै उनले एमालेलाई कमजोर देखाउने विभिन्न प्रयास भइरहेका बताए । ‘राजनीतिमा अनेक समस्या छन् भनेर चित्रण गरिँदैछ, एमालेलाई आफ्नो भूमिकाबाट च्युत गराउने प्रयास भइरहेको छ,’ पोखरेलको भनाइ थियो ।

स्मृति सभामा पोखरेलले नेता मनमोहन अधिकारीलाई नेपालको कम्युनिष्ट आन्दोलनका अभिभावकको रूपमा स्मरण गरे । ‘उहाँको सपना, विचार र कार्यक्रमहरूलाई निरन्तरता दिनु आजको हाम्रो दायित्व हो,’ पोखरेलले स्मरण गरे ।

सम्बन्धित समाचार

ताजा समाचार