सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गभर्नर नियुक्ति हुने बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएको ढिलाइ भएको जिकिर गरे । उनले सत्तारुढ दलहरूबिचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको जानकारी समेत दिए ।
उनले सत्तारुढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने समेत जानकारी दिए ।
उनले भने ‘समग्र मुलुकको आर्थिक अवस्था सुधार गर्नुपर्ने भएको कारण गभर्नर नियुक्तिको विषय सबै दलहरूको आ–आफ्नो चासो हुनु अस्वाभाविक हैन । हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबिच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको छ । अब संयन्त्रको बैठक बस्दै छ । उक्त बैठकले नीतिगत मार्ग निर्देशन गर्नेछ भन्ने हाम्रो विश्वास छ । गभर्नरको समस्या चाँडै समाधान हुन्छ । अहिले पनि निमित्तको भरमा त हैन नि चलिरहेको । कार्यवाहक नै दिएर सञ्चालन भइरहेको छ ।’
सरकार शिक्षकका मागहरूप्रति समेत संवेदनशील रहेको मन्त्री गुरुङले उल्लेख गरे । उनले शिक्षकका जायज मागहरू पूरा गर्नको लागि सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको समेत जानकारी दिए ।

