काठमाडौं। नेपाली कांग्रेसका सभापती गगन थापाले गणेश नेपालीको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई समाज, राज्य र नागरिक सबैले सामूहिक आत्मचिन्तन गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले गणेश नेपालीको घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्। उनले दिवंगत गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
थापाले यो घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नभई एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय भएको बताएका छन्। उनले सबैलाई गणेश नेपालीका आश्रित परिवारलाई सक्दो साथ र सहयोग गर्न आग्रह गरेका छन्।
उनले विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्नेमा जोड दिएका छन्।
“एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छरु आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छरु राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्रु” भन्दै थापाले गम्भीर प्रश्न उठाएका छन्।
उनले समाज, परिवार, राज्य र नागरिक सबैले आफ्ना कमजोरीको इमानदार समीक्षा गर्दै भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने बताएका छन्।

