काठमाडौं । नवलपरासी (पश्चिम) को सुस्ताका सयौँ उत्पीडित बासिन्दाहरू आफ्नो मातृभूमि जोगाउन र आफ्ना आधारभूत मानव अधिकारको रक्षा गर्न काठमाडौं आइपुगेका छन् । सुस्ता बचाउ अभियानको आयोजनामा माईतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा उनीहरूले राज्यको चरम उपेक्षा र सीमा क्षेत्रमा भोग्नुपरेको उत्पीडनका विरुद्ध एकतावद्ध स्वर उरालेका छन् ।
काठमाडौंको तातो कालोपत्रे सडकमा निधारमा रातो टीका र हातमा नेपाली राष्ट्रिय झण्डा बोकेर बसेका वृद्ध, महिला र आमाहरूको दृढ अनुहारले सिंहदरबार र संसद भवनलाई सिधै झकझक्याइरहेको छ । लामो समयदेखि नदी बहाव परिवर्तनका कारण आफ्नो उर्वर खेतीयोग्य जमिन भारतीय सीमा सुरक्षा बलको अतिक्रमणमा परेको तर आफ्नै देशको सरकारले लालपुर्जा नदिँदा उनीहरू सुरक्षाविहीन बनेका छन् ।
धर्ना कार्यक्रमका सहभागीहरूलेसरकारसँग मुख्य तीन बुँदे माग राखेका छन् । नेपालको सार्वभौम भूमि सुस्तामाथिको अतिक्रमण तत्काल रोक्न र सुगौली सन्धिको भावनाअनुरूप सीमांकन गर्न प्रभावकारी कुटनीतिक पहल गर्न, सुस्ताबासीहरूलाई तत्काल बिना कुनै शर्त नेपाली वंशजको नागरिकता उपलब्ध गराउन र तेस्रो, पुस्तौँदेखि भोगचलन र संरक्षण गर्दै आएको जमिनको नापजाँच गरी तुरुन्त लालपुर्जा वितरण गर्न माग गरेका छन् । काठमाडौंको सडकमा आँसु र आक्रोश बोकेर सुस्ताबासी उत्रिँदा धेरै काठमाडौंवासीहरूले ऐक्यवद्धता समेत जनाएका छन् ।
‘दया होइन, न्याय दे’ लेखेको प्लेकार्ड बोकेकी आमाको रुवाइ र ‘हामी खेती गर्छौं, यसको स्वामित्व हाम्रो हो’ लेखेको बोर्ड समातेका सुस्ताका युवाहरूको आत्मसम्मानले सिंगो नेपाललाई सीमा र नागरिकको सुरक्षाबारे सोच्न बाध्य तुल्याएको छ ।

