काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्टिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्वन गरेको आरोप लगाएका छन् ।
नेपाल खेलकुद महासंघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेपलाई रोक्न लागि पनि पार्टीका संवद्ध पक्षलाई निर्देशन दिए । उनले एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोवल गिराउने काम नगर्न पनि खेलकुद क्षेत्रमा सबैलाई अपिल गरे । अध्यक्ष ओलीले खेलकुद क्षेत्रको जरैदेखि विकास गर्ने काममा सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता पनि औँल्याए । देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको योगदान हुने भएकाले पनि यस क्षेत्रको विकासमा सबैले पहल गर्नुपर्ने उनको भनाई थियो ।
अध्यक्ष ओलीले भने,‘खेल क्षेत्रको विकासमा सरकारले पनि ध्यान दिनुपर्ने हो । सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तराष्टि खेलमा नै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ । यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्दछ । टुप्पामा परिवर्तन गर्न खोजेर हुँदैन । यसलाई जरैदेखि परिर्वतन गर्नु पर्दछ, फेदैदेखि परिवर्तन गर्नुपर्दछ । अनि मात्रै परिवर्तन हुन्छ । तपाईहरुको मनोवल कमजोर हुनुहुँदैन । एन्फा अहिले प्रतिवन्ध भयो । त्यसलाई प्रतिवन्धको अवस्थाबाट उन्मुक्त गर्ने र विश्वमा हाम्रा खेलाडीहरु अनेत्रका जस्तै विभिन्न खेलाडीहरुको नाम चम्किएजस्तै नेपाली खेलाडीहरुको पनि अन्तराष्ट्रिय जगतमा नाम चम्किन सक्छ । उनीहरुको कारणले नेपालको प्रतिष्ठा बढ्नसक्छ । यस दिशामा काम गरेर खेलकुद महासंघले योगदान गर्न सकोस् ।’
अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी समेत गरेका छन् ।

