काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन् ।
मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । सरकारले वाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले उनीहरु खुशी भएको पनि सांसद ठाकुरको जिकिर थियो । उनले सरकारले नेपाली जनताको नभई अन्य मुलुकको हित हुनेगरी काम गरिरहेको पनि बताए । सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको बुझाई थियो ।
उनले भने,‘जुन राज्य छ । यो ननफङसनिङ हो । जनताको हातमा त केही छैन । सबै सकियो । हाम्रो स्वतन्तत्रतामाथि नै असर परिरहेको छ । किनकी बाहिरका मानिसहरुले सबै चिज कब्जा गरिहाले । र उनीहरुको चित्त बुझाउने गरी सारा काम भइरहेको छ । हामी त त्यसमा कहीँ पनि पर्दै पर्दैनौ । हामी यो देशका नागरिक हौ । हाम्रो चित्त बुझाउने किसिमको हाम्रो भलाई हुने किसिमको काम हाम्रो सरकार भएन हुने हो । यो त हाम्रो सरकार नै छैन । यो बाहिरवालाको सरकार हो । बाहिरवालाले त यो सरकारलाई बाहवाही दिइरहेको नै छ नि ।’
सांसद ठाकुरले सरकारको कारण मुलुक बाह्य मुलुकहरुको कब्जामा गएको पनि बताएका छन् ।

